१६ कार्तिक २०८३, आइतबार | Sun Nov 1 2026

१६३ प्रतिशतले बढ्यो सिद्धार्थ बैंकको खुद नाफा, अन्य वित्तीय सूचकको अवस्था कस्तो ?

१५ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा सिद्धार्थ बैंकको नाफामा उच्च वृद्धि देखिएको छ । बैंकले सार्वजनिक गरेको चालु आवको असोज मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको खुद नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा १६२.७५ प्रतिशतले वृद्धि भई ८५ करोड १५ लाख ६५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ३२ करोड ४० लाख ९१ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो ।

बैंकको खुद ब्याज आम्दानी १०.५० प्रतिशतले वृद्धि भएर २ अर्ब ३८ करोड ९६ लाख ९३ हजार रुपैयाँ पुगेको छ । यस त्रैमासमा बैंकले ५ अर्ब ३६ करोड ४९ लाख रुपैयाँ कुल ब्याज आम्दानी आर्जन गर्दा २ अर्ब ९७ करोड ५२ लाख रुपैयाँ ब्याज खर्च गरेको छ ।यस्तै, बैंकको खुद फि तथा कमिसन आम्दानी १०.९४ प्रतिशतले बढेर ५७ करोड ७ लाख ९ हजार रुपैयाँ पुगेको छ । यसले गर्दा बैंकको कुल सञ्चालन आम्दानी ३ अर्ब २५ करोड ५ लाख २७ हजार रुपैयाँ पुगेको देखिन्छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा बैंकको ग्राहक निक्षेप २.५७ प्रतिशतले बढेर ३ खर्ब ३४ अर्ब ८० करोड १२ लाख रुपैयाँ पुगेको छ, जुन गत असार मसान्तमा ३ खर्ब २६ अर्ब ४० करोड रुपैयाँ थियो ।

बैंकको कुल चुक्ता पुँजी १९ अर्ब ७७ करोड ३९ लाख २७ हजार रुपैयाँ पुगेको छ, जसमा १६ अर्ब २७ करोड ३९ लाख रुपैयाँ साधारण सेयरको र ३ अर्ब ५० करोड रुपैयाँ अविमोच्य असञ्चिति अग्राधिकार सेयरको हिस्सा रहेको छ । बैंकको जगेडा कोषमा १५ अर्ब ८१ करोड ९२ लाख रुपैयाँ सञ्चित रहेकाे छ ।

चालु आवको पहिलो त्रैमासमा बैंककाे वितरणयोग्य नाफा २७ करोड ७९ लाख ८४ हजार रुपैयाँ कायम भएको छ । गत वर्षको सञ्चित नाफाबाट नगद लाभांश भुक्तानी गरेपछि बाँकी रहेको रकमसहित असोज मसान्तसम्म बैंकको सञ्चित वितरणयोग्य मुनाफा ३९ करोड ६ लाख ३९ हजार रुपैयाँ छ । बैंकको वितरणयोग्य प्रतिसेयर आम्दानी ६.०७ प्रतिशत मात्र भए तापनि क्यापिटल एडजस्टमेन्ट रिजर्भसहित गणना गर्दा यो २५.६३ प्रतिशत पुगेको छ । बैंककाे प्रतिसेयर आम्दानी  ७.८२ रुपैयाँबाट बढेर १८.७६ रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १९९.६१ रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य २ हजार ३७८.८४ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : November 1, 2026 at 12:20 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/