१६ जेष्ठ २०८३, शनिबार | Sun May 31 2026

टोखा–छहरे सुरुङमार्ग चीनको प्राथमिकतामा, प्रधानमन्त्रीको भ्रमणमा थप सहमतिको सम्भावना: मन्त्री महत

३० भदाै,  नुवाकोट । अर्थमन्त्री डा प्रकाशशरण महतले टोखा–छहरे सुरुङमार्ग निर्माणका लागि चिनियाँ सरकार सकारात्मक रहेको बताएका छन ।लिखु महिला उद्यमी तथा सामाजिक संस्थाले आज आयोजना गरेको तीज शुभकामना कार्यक्रममा मन्त्री महतले परियोजना निर्माणका लागि सरकारले चालु आर्थिक वर्षका लागि रू एक अर्ब छुट्याएको र थप रकम लगानीका लागि चीन सरकारसमक्ष प्रस्ताव पठाइएकामा सकारात्मक जवाफ आएको बताए ।

“यो आयोजनामा चिनियाँ लगानी ल्याउन दुई पक्षबीच पत्रको आदानप्रदान भइसकेको छ । यसको अर्थ आयोजना अगाडि बढ्छ भन्ने हो”, उनले भने, “प्रधानमन्त्रीको आसन्न चीन भ्रमणका क्रममा यो आयोजना पहिलो प्राथमिकतामा राखेका आसयको पत्र चीन सरकारले दिएको छ ।” योसँगै प्रधानमन्त्रीको चीन भ्रमणमा यो मार्गका बारेमा थप सहमति हुने सम्भावना बढेको छ ।

यो आयोजनाको प्रारम्भिक सम्भाव्यता अध्ययन भइसकेको जानकारी दिँदै अर्थमन्त्री डा महतले अब विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अध्ययनपछि निर्माण प्रक्रिया अगाडि बढ्ने बताए । “सुरुङमार्गको अध्ययन महत्वपूर्ण पक्ष हो, धेरै पक्षमा ध्यान पु¥याउनुपर्ने भएकाले अध्ययन सबैभन्दा जटिल र महत्वपूर्ण छ, अध्ययन सकिने वित्तिकै सुरुङमार्गको काम अगाडि बढ्छ”,  उनले भने ।

टोखा–छहरे सुरुङमार्ग निर्माणको काम भौतिक मन्त्रालयले, स्रोत जुटाउने काम अर्थ मन्त्रालय र वातावरणसम्बन्धी काम वन मन्त्रालयको हुने भएकाले सबै निकायबीच समन्वय आवश्यक रहेको मन्त्री महतले बताए । त्यस्तै नुवाकोटको सडक सञ्जाल सदरमुकाम विदुरसम्म मात्र नभइ रसुवा नाकासम्म स्तरोन्नति हुने पनि उनले बताए ।

पृथ्वी राजमार्गको ट्राफिक व्यवस्थापन र अन्तर्राष्ट्रिय व्यापारका लागि टोखा–छहरे सडक सबैभन्दा छोटो हुने उनको भनाइ छ । त्यस्तै ढिकुरे र सिम्ला सिँचाइ आयोजना पनि सरकारको प्राथमिकतामा रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : September 16, 2023 at 9:30 pm