मुख्यमन्त्रीमाथि अभद्र व्यवहार गरेको आरोप लागेका प्रदेश ३ का स्थापितको मन्त्री पद धरापमा
१५ कात्तिक, काठमाडौं । प्रदेश ३ सरकारका भौतिक पूर्वाधार मन्त्री केशव स्थापितलाई हटाउने प्रक्रिया शुरु भएको छ । मन्त्रीको जिम्मेवारी पूरा नगरेको र मुख्यमन्त्रीलाई पटक–पटक अपमान गरेको आरोपमा स्थापितलाई हटाउन लागिएको स्रोतले जनाएको छ । बुधबारको मन्त्रिपरिषद् बैठकमा पनि स्थापितले मुख्यमन्त्री डोरमणि पौडेलसँग अभद्र ढंगले प्रस्तुत भएको र पटक–पटक सम्झाउँदा पनि स्थापित नसुध्रिएपछि उनलाई हटाउन लागिएको स्रोतले बताएकाे छ ।
पटक–पटक अभद्र ढंगले प्रस्तुत हुने र सार्वजनिक ढंगले मुख्यमन्त्रीको अपमान गरेपछि मुख्यमन्त्री पौडेलले स्थापितसँग काम गर्न नसकिने जानकारी गराएपछि उनलाई हटाउने अनुमतिका लागि नेकपा नेतृत्वसँग छलफल चलेको स्रोतले जनाएको छ । स्थापितलाई हटाउने प्रयोजनकै लागि मुख्यमन्त्री पौडेल र अर्थ तथा योजना मन्त्री कैलाश ढुंगेल बिहीबार काठमाडौं आउँदैछन् ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायत नेतृत्वसँग यसबारेमा छलफल गरिने स्रोतले जनाएको छ । स्थापित अभद्र ढंगले प्रस्तुत भएपछि टेबुल ठोकाठोक समेत भएकाे एक मन्त्रीले जानकारी दिए । मी टू अभियानअन्तर्गत काठमाडौं महानगरपालिकाकी पूर्वकर्मचारीबाट आरोप खेपिरहेका स्थापितले मन्त्रिपरिषद् बैठकमै अभद्र व्यवहार गरेपछि उनको पद संकटमा परेको छ ।
प्रकाशित मिति : १५ कार्तिक २०७५, बिहीबार १२:०८