१२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026

पिपिएल : चितवनले काठमाडौँलाई दियो १५० रनको लक्ष्य

१५ कात्तिक, कास्की । पोखरा प्रिमियर लिग (पिपिएल) टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत चितवन राइनोजले हुलास काठमाडौँ रोयल्सलाई १ सय ५० रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ४९ रन जोड्यो।

 

हरिशंकर साहले चितवनका लागि अर्धशतक प्रहार गरे। ओपनिङमा आएका हरिशंकरले ६० रन जोडे। लगातार दोस्रो खेलमा अर्धशतक प्रहार गर्ने क्रममा हरिले ४९ बलमा ५ चौका र ३ छक्का प्रहार गरे। उनले पहिलो विकेटका लागि अनिलकुमार साहसँग ५४ रनको साझेदारी गरेका थिए। यसअघि हरिले बुधबार एक्पर्ट धनगढी बुल्जविरुद्ध ५३ रन प्रहार गरेका थिए।

कप्तान पारस खड्काले १४ रन जोडे। उनले १४ बलमा १ छक्का हिर्काए। पारसलाई काठमाडौंका नन्दन यादवले बोल्ड गर्दै पेभिलियनको बाटो देखाएका थिए। ओपनिङ ब्याट्सम्यान अनिलकुमार साहले २७ रन जोडे। काठमाडौंका बसन्त रेग्मीको एलबीडब्लूको धरापमा पर्नुअघि अनिलले २७ बलमै ३ चौका र १ छक्का हिर्काए।

स्मित पटेलले २४ बलमा ३१ रन जोेडे। पवन सार्राफबाट रनआउट हुनुअघि उनले ३ चौका र १ छक्का हिर्काए। सनी पटेल ७ बलमा १३ रन जोडेर आउट भए । बलिङमा बसन्त रेग्मीले २ विकेट लिए। नन्दन यादव र पवन सार्राफले १-१ विकेट हात पारे।

 

प्रकाशित मिति : November 1, 2018 at 11:35 am