२१ भदौ २०८३, आइतबार | Sun Sep 6 2026

मलाई हत्कडी लगाउने कुनै ठाउँ छैनः केपी ओली

७ भदाै, काठमाडाैं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई फसाउन विरोधीहरूले माकुराको जालो बुनिरहेको बताएका छन् ।एमालेनिकट भूपू सैनिक-प्रहरी संगठनको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले ‘माकुराको जालोमा भैंसी’ नपर्ने बताएका हुन् ।

‘म प्रधानमन्त्री, पराराष्ट्रमन्त्री, गृहमन्त्री हुँदा कतै नचिप्लियोस् भनेर कानून पल्टाइ-पल्टाइ फैसला–निर्णय गरेको छु। त्यसकारण यिनीहरूका इच्छाले केही हुँदैन,’ उनले भने, ‘माकुराको जालोमा भैंसी पर्दैन यिनीहरूले बुझ्नुपर्छ। यिनीहरू माकुराको जालो बनाएर हिँड्छन्, केपी ओलीलाई पार्न। केपी ओलीको न खुट्टाले थाहा पाउँछ, न सिङले थाहा पाउँछ न त जिउले नै थाहा पाउँछ !’

उनले आफूलाई कसैले गोली हान्न सक्ने बताउनु भयो । यसमा आपत्ति नभएको उनको भनाइ छ। ‘मलाई…. पहिले पञ्चायतकालमा हुँदै नभएका कुरामा दस वर्ष कैद गर्‍यो। दस वर्ष पूरा भएपछि ४ वर्ष यसै थुन्यो।

म १४ वर्ष जेल बसें,’ उनले भने, ‘त्यस्तै गर्ने हो भने बेग्लै कुरा, झूटैमा जाने हो भने बेग्लै कुरा, तर कानूनले केपी ओलीलाई हत्कडी लगाउने कुनै ठाउँ छैन। केपी ओलीले राख्दै राख्दैन। किन केपी ओली ढुक्कले बोल्छ ? यसकारण कि, मलाई थाहा छ, विरोधीहरू छन्, तिनले पाएसम्म न्यायका विरूद्ध, सत्यका विरूद्ध…,जो सत्यसँग द्रोह गर्ने मानिस हुन्छ, तिनले सत्यका विरूद्ध काम गर्छन्। त्यस्ता तत्त्व छन्। तिनीहरू आइलाग्न सक्छन्। म कानुनीरूपमा पनि सतर्क छु तिनीहरूसँग।’

उनले भ्रष्टाचार, तस्करीलाई छोप्न, एमालेले गर्‍यो, एमाले गर्‍यो भनेर हल्ला चलाइएको बताए। ‘यो खालको एउटा फोहोरी हावा बगेको छ,’ उनले भने, ‘एउटाले तुरून्तै छाप्छ, केपी ओलीलाई हत्कडी लाग्यो, जेल गयो!’

प्रकाशित मिति : August 24, 2023 at 4:12 pm