१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

सशस्त्रमा १७ बर्षदेखिको बढुवा समस्याको अन्त्य, एकै महिनामा ६ हजार ४ सय १३ को बढुवा

६ भदाै, काठमाडाैँ । सशस्त्र प्रहरी बल नेपालले मंगलबार  ५६  जना एसपीमा  र ८४ जना डिएसपीमा  बढुवाको लागि नाम सिफारिस गरे संगै सशस्त्र प्रहरी बलमा १७ बर्ष देखिको बढुवा जामको समस्या अन्त्य भएको  छ  । मंगलबार बढुवा हुने एसपी सि.सं. ३ र डिएसपी सि.सं. ७ का रहेका छन् । २०६० भाद्र २९ गते भर्ना भएका सि.सं. ३ इन्स्पेक्टर टोलीबाट यसअघि २९ जना एसपी भईसकेका छन् भने बाँकी रहेका सबै ५६ जना मंगलबार एसपी भएका हुन् ।

यसैगरी २०६४ सालको सि.सं. ७ बाट यसअघि ५६ जना डिएसपिमा  बढुवा भईसकेको छन्  भने मंगलबार बाँकी ८४ जना बढुवा भएका हुन् । यसैगरी २०६६ मंसीर २१ गते भर्ना भएका सि.सं. ८ सशस्त्र प्रहरी निरीक्षकको टोलीबाट ११ जना समेत डिएसपी भएका छन् ।

डिएसपी भएका  दुवैटोलीबाट योग्यता, कार्यक्षमता, तालिम, कार्यसम्पादन मुल्याङ्कनलाई आधार बनाएर गरिएको छ । सि.सं. ३ बाट यसअघि एसपी भएका पनि सोही आधारमा गर्दा धेरैजसो पहिलो लटमा डिएसपी भएका र केही चाही दोश्रो लटमा डिएसपी भएका थिए । सो टोली २०६७, २०६९ र २०७० मा गरी तीन पटक डिएसपी बढुवा भएका थिए ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले संगठनको नेतृत्व सम्हालेदेखि नै बृत्तिबिकासमा ध्यान दिदै संगठनलाई नीति नियम अनुसार अघि बढाउन खोजेसँगै सरुवा बढुवा लगायतमा व्यापक परिवर्तन गर्दै पारदर्शी ढंगले काम हुन थालेपछि एसएसपी देखि सहायक हवल्दारसम्म ६ हजार ४ सय १३ जना  कर्मचारीको एकैपटक बढुवा भएको छ । यस पटक ओ.एण्ड एम. नभएको भए डिएसपी र एसपी बढुवाका लागि अझ ४ वा ५ वर्ष कुर्नुपर्ने अवस्था थियो ।

महानिरीक्षक अर्यालले सोही समस्यालाई समाधान गर्नको लागि पहल गरेसँगै बढुवाको जाम अन्त्य भएको हो । संगठनको इतिहासमा नै यस प्रकारको बढुवा पहिलो पटक भएको हो । सशस्त्र प्रहरीमा वर्षौदेखि रहेको बृत्तिबिकासको समस्या समाधान गर्न केही समयअघि संगठन सर्वेक्षण तथा व्यवस्थापन (ओ.एण्ड एम.) मार्फत केही दरबन्दी थप र केही पदहरु समायोजन भएका थिए ।

यो क्रमसँगै १७ वर्षदेखि एउटै दर्जामा रहेका अधिकृतहरु एकै पटक बढुवा हुने भएका छन् भने बढुवाको समस्या पनि लगभग अन्त्य भएको छ । हाल भएका सबै दर्जाको बढुवामा समेत बाहिरी प्रभाव लगभग शुन्य भएको छ । गत असार ३१ गते सशस्त्र प्रहरी बलले एसएसपी देखि सहायक हवलदार सम्मको बढुवाको लागि सुचना प्रकाशित गरेको थियो ।

जसअनुसार करिब १ महिनाको बिचमा एसएसपी १२, एसपी ५६, डिएसपी ८४ , इन्सपेक्टर ७३, वरिष्ठ सइ ५०, सइ १ सय ४३, असइ ८२, वरिष्ठ हवलदार १ सय १८, हवलदार १ हजार ९ सय २५ र सहायक हवलदारमा ३ हजार ८ सय ७० गरि कुल ६ हजार ४ सय १३ जनाको बढुवा भएको छ ।

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार ११:४२