२१ जेष्ठ २०८३, बिहिबार | Thu Jun 4 2026

विदेशी मुद्राको सञ्चिति २६.६ प्रतिशतले बढ्यो, ११.७ महिनाको वस्तु आयात धान्ने

१ भदाै, काठमाडाैं । विदेशी विनिमय सञ्चिति २६ प्रतिशतले बढेको छ । २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २६.६ प्रतिशतले वृद्धि भएर २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड पुगेको हो ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्यांक अनुसार अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०८० असार मसान्तमा २३.१ प्रतिशतले वृद्धि भई ११ अर्ब ७४ करोड कायम भएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा १० खर्ब ५६ अर्ब ३९ करोड रहेकोमा २०८० असार मसान्तमा २७.४ प्रतिशतले वृद्धि भई १३ खर्ब ४५ अर्ब ७८ करोड कायम भएको छ ।

त्यस्तै बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा १ खर्ब ५९ अर्ब ४१ करोड रहेकोमा २०८० असार मसान्तमा २१.४ प्रतिशतले वृद्धि भई १ खर्ब ९३ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । २०८० असार मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.५ प्रतिशत छ ।

आर्थिक वर्ष २०७९/८० को आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११.७ महिनाको वस्तु आयात र १० महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

२०८० असार मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २८.६, ८३ र २५.१ प्रतिशत छ । २०७९ असार मसान्तमा यो अनुपात क्रमशः २४.६, ५७.८ र २२.१ प्रतिशत थियो ।

प्रकाशित मिति : August 18, 2023 at 1:28 pm