११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026
http://kk5.io/NADA2026

गेहेन्द्र धिमाल फाउन्डेसनद्वारा लैङ्गिक अल्पसंख्यक कलाकारको कला प्रदर्शनी सम्पन्न

१९ असार, काठमाडौँ। गेहेन्द्र धिमाल फाउन्डेसनले लैङ्गिक अल्पसंख्यक समुदायमा आधारित ‘सिलाएका सपनाहरू’ थिममा रही ‘द प्राइडस् प्यालेट’ फेसन डिजाइन र कला प्रदर्शनी सम्पन्न गरेको छ । यो कार्यक्रमले LGBTQIA+ कलाकारहरूलाई उनीहरूको कलाको रूप अभिव्यक्त गर्न र प्रदर्शन गर्नको लागि ‘एक्सपोजर’ सिर्जना गरेको आयोजक संस्था गेहेन्द्र धिमाल फाउन्डेसनका अध्यक्ष गौतम धिमालले बताए ।

वर्तमान र भावी पुस्तामा कलालाई पुनर्जीवित गर्ने र कला प्रदर्शन गर्ने महत्त्वपूर्ण कदमको रुपमा जुन २५ देखि जुन ३० तारिकसम्म यो प्रदर्शनी आयोजना भएको थियो । एकता, सामूहिकता, र पहिचानका साथै भेदभाव र हिंसाको प्रतिरोधको रुपमा अंग्रेजी पात्रो अनुसार ‘जुन’ महिनालाई लैङ्गिक अल्पसंख्यक समुदाय (लेस्बियन, गे, उभयलिंगी, ट्रान्सजेन्डर, क्वियर, र इन्टरसेक्स (LGBTQIA+) ले ‘प्राइड मन्थ’को रुपमा मनाउने गर्छन् । लैङ्गिक मापदण्डलाई चुनौती दिनु, हुर्काईमा समानुभूति प्रदान गर्नु, मानसिक स्वास्थ्यलाई ध्यानमा राख्नु लगायतका उद्देश्य सहित यो प्रोजेक्ट आयोजना भएको फाउन्डेसनका अध्यक्ष धिमालले बताए । यो प्रदर्शनीमा दुई कलाकारहरु डिजाइनर एलिज घिमिरे र अदिति शेर्पा डिजिटल कलाकारका कला प्रदर्शनी भएका थिए ।

पहिलो पटक आयोजना भएको ‘सिलाएका सपना’मा क्वियर कलाकारले लैङ्गिक तरलता र लैङ्गिक डिसफोरियामा आधारित आफ्नो संग्रह प्रदर्शन गरेका छन् । यो प्रदर्शनी आफ्नो किसिमको पहिलो मात्र नभई कलाकार मात्र नभएर सिंगो समूदायको आन्दोलन, इतिहास, उपलब्धि पनि भएको जनाईएको छ । यो प्रदर्शनीमा नेपालका लागि अमेरिकी राजदुतावासका प्रेस तथा सांस्कृतिक शाखा प्रमुख ग्यारेट ई. विल्करसन साथै नेपाली प्रसिद्ध कलाकारहरूको उपस्थिति रहेको थियो भने लैङ्गिक अल्पसंख्यक समुदायका विभिन्न व्यक्तिहरु लगायत सयौँको संख्यामा दर्शकहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : July 4, 2023 at 4:37 pm