८ आश्विन २०८१, मंगलवार | Tue Sep 24 2024

एसीसी यू-१६ इष्ट जोन कप क्रिकेटमा थाइल्याण्डलाई २२५ रनले हराउँदै नेपाल सेमिफाइनलमा

१३ असार , काठमाडौ । नेपाली बलरका अघि निरीह सावित भएपछि थाइल्याण्ड सस्तोमा समेटिदा नेपालले अन्तरले विजय हात पारेको छ । मलेसियामा जारी एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटमा थाईल्यान्डलाई २ सय २५ रनको फराकिलो अन्तरले हराउँदै नेपालले अन्तिम चारमा स्थान बनाएको छ ।

नेपाल पहिलो जित हातपार्दा नै सेमिफाइनलमा पुगेको हो । नेपालले दिएको २७० रनको लक्ष्य पछ्याउने क्रममा थाइल्यान्ड ४४ रनमै सीमित बन्यो । सन्तोष यादवले पाँच विकेट लिएपछि थाइल्यान्ड १३ ओभर २ बलमा अल आउट हुन पुगेको थियो ।

मलेसियाको बांगीमा टस जितेर पहिला ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाउँदै २ सय ६९ रन बनाएको थियो । नेपालका लागि निरज कुमार यादवले ४३ बल खेलेर ७ चौका र ६ छक्काको सहयोगमा ७४ रन बनाएर बाहिरिए । यादवले २१ बलमै अर्धशतक पूरा गरेका थिए ।

नेपालका लागि नरेन भट्टले अविजित ५५ रनको योगदानगर्दा सूर्यान्शु कोइरालाले ४० तथा सन्तोष यादवले ४२ रन बनाए । थाइल्यान्डका लागि इसान बेनर्जीले १६ र दनुफन फङ्योनपिनितले १२ रन जोडे । नेपाल रहेको समूह एमा मलेसिया र थाइल्यान्ड छन्। त्यस्तै समूह ‘बी’ मा हङकङ, सिङ्गापुर, माल्दिभ्स र इण्डोनेसिया छन्। नेपालले अब दोस्रो खेलमा शुक्रबार मलेशियासँग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित मिति : १३ असार २०८०, बुधबार १२:३२