६ आश्विन २०८१, आईतवार | Mon Sep 23 2024

ताप्लेजुङको जनजीवन कष्टकर भएको भन्दै सांसद भट्टराईले गराए सरकारको ध्यानाकर्षण

१३ असार, काठमाडौं । एमाले सांसद योगेश भट्टराईले, ताप्लेजुङमा बाढीबाट भएको क्षति र प्रभावितको पुर्नस्थापनाका लागि सदनमार्फत सरकारको ध्याकर्षण गराएका छन् ।

आज बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा समय लिएर बोल्दै उनले ताप्लेजुङ बाढी र पहिरोका कारण अन्य जिल्ला र प्रदेश तथा संघीय राजधानीसंग सम्बन्ध विच्छेदको अवस्थामा रहेको भन्दै तत्काल आवश्यक पहलका ध्यानाकर्षण गराएका हुन् ।

‘विशेष गरी, ताप्लेजुङ जिल्लालाई जोड्ने तीनवटा राजमार्गहरु सबै चलेका छैनन् । अवरुद्ध छन् । मेचि राजमार्ग चलेको छैन् । हिंवा खोलमा गएको पुल माननीय मन्त्रीजीले दश दिनमा बेलिब्रिज बनिसक्छ भन्नु भएको थियो । तर आज मैले रिर्पोट लिदाँ अझै पनि १० —१५ दिन अझै लाग्छ । डाइभर्सन खडा गरिएको थियो । हिजो राति डाइर्भसन पनि बगायो । त्यसकारण ताप्लेजुङको सम्बन्ध पूर्ण रुपमा विच्छेद भएको छ । ’उनले भने ।

विभिन्न ठाउँमा सवारी साधन नपुग्दा खाद्य संकट समेत भएको भन्दै तत्काल त्यसका लागि हवाई मार्गबाट भएपनि राहत पुर्याउन उनले सरकारको ध्यानाकर्षण गराए ।

प्रकाशित मिति : १३ असार २०८०, बुधबार १२:०९