६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न आदेश दिएको छैन्ः गृह मन्त्रालय

११ असार, काठमाडौं । ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन’ शीर्षकमा एक राष्ट्रिय दैनिकमा सोमबार बिहान प्रकाशित समाचारको गृह मन्त्रालयले खण्डन गरेको छ ।

सोमवार अपरान्ह एक विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन’ शीर्षकमा समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

गृह मन्त्रालयका सहसचिव केदारनाथ शर्माद्धारा जारी विज्ञप्तिमा उक्त समाचार झुटो र भ्रटाचार विरुद्धको अभियानलाई दिग्भ्रमित पार्न लागेका समुहलाई फाइदा पुर्याउने गरि प्रकाशन गरिएको भन्दै संस्थालाई सचेत रहन गृहले आग्रह गरेको छ ।

‘भ्रष्टाचार र अपराध नियन्त्रणलगायतका अनुसन्धान प्रक्रियालाई दबावरहित बनाई प्रहरी निकायलाई स्वतन्त्रतापूर्वक अनुसन्धान गर्न मन्त्रालयको नेतृत्व तहबाट निरन्तर सहजीकरण र निर्देशन हुने गरेको छ । तथापि त्यस्तो निर्देशन दिने क्रममा गृहमन्त्रीबाट कुनै व्यक्ति लक्षित गरी केही गर्न वान गर्न कुनै प्रकारको निर्देशन दिएको कुरा भ्रामक, कपोलकल्पित र झुठा हो । सत्यमा आधारित नभईकन प्रकाशित यस्ता खालका समाचारले मन्त्रालयले हाल सञ्चालन गरिरहेको अपराध र भ्रष्टाचार नियन्त्रणको अभियानलाई दिगभ्रमित पार्न उद्यत समूहलाई मात्र फाइदा पुग्ने विषयतर्फ जिम्मेवार प्रकाशन संस्था सतर्क रहनु वान्छनीय छ ’जारी विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै न्याय निरुपणको क्रममा रहेको विषयप्रति समाचार प्रकाशन गर्दा समाचारको पुष्टि गर्ने आधार हुनुपर्ने भन्दै मन्त्रालयले समाचारको खण्डन गरेको हो ।

‘न्याय निरुपणको क्रममा रहेको विषयका बारेमा कुनै पनि समाचार प्रकाशन गर्दा सम्बन्धित पक्ष वा पदाधिकारीबाट पुष्ट्याई हुने प्रबन्ध मिलाउने तर्फ संवेदनशील हुन आग्रह गर्दछु । यसर्थ, मन्त्रालय उक्त झूठो निराधार र भ्रमपूर्ण समाचारको खण्डन गर्दछ ।’

आर्थिक राष्ट्रिय दैनिकले सोमवार प्रकाशन गरेको संस्करणको पहिलो पेजमै ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन’शीर्षकमा समाचार प्रकाशन गरेको थियो । उक्त समाचार आधारहिन र कपोकल्पित भएको गृह मन्त्रालयको दावी छ ।

प्रकाशित मिति : ११ असार २०८०, सोमबार १७:०३