६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

विपन्न नागरिकलाई निशुल्क सेवाको व्यवस्था गरिएकाे छः स्वास्थ्यमन्त्री बस्नेत

११ असार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले विपन्न नागरिकहरुको लागि निशूल्क स्वास्थ्य सेवा दिने व्यवस्था गरेको बताएका छन् ।

आज प्रतिनिधि सभा बैठकमा बोल्दै उनले, नीजि तथा सरकारी अस्पतालहरुले स्विकृति लिने बेलामा १० प्रतिशत विपन्न, असहाय र व्यवारिसे नागरिकहरुलाई निशूल्क सेवा उपलब्ध गराउने व्यवस्था आफू मन्त्रालय आएपछि गरेको बताए ।

उनले भने, ‘यो १० प्रतिशत वेडसहितको उपचार नीजि मेडिकल कलेज, सरकारी अस्पताल र अरु अस्पतालहरुले स्विकृति लिने बेलामा १० प्रतिशत विपन्न, असहाय र व्यवारिसे नागरिकहरुलाई यो सेवा उपलब्ध गराउन पर्ने आजका मितिसम्म यो सेवा उपलब्ध भएको थिएन् । मैले यहाँ प्रवेश गरेपछि कडाईका साथ यो १० प्रतिशत सुविधा विपन्न, असहाय र व्यवारिसे जनताले पाउनु पर्ने ग्यारेन्टि गरेको छ ।’

मन्त्री बस्नेतले निशूल्क सेवा प्राप्त गर्नको लागि निशूल्क कोटा उपलब्ध गराउने र कोटा वाहेकलाई स्थानीय निकाय वडा कार्यालयले सिफारिस गरेर सेवा उपलब्ध गराउने काममा स्वास्थ्य मन्त्रालयले प्रयासरत रहेको बताए ।

उनले भने, ‘यो सुविधाको लागि मापदण्डके हो भन्दा २२ वटा जिल्लामा गरिबीको रेखामुनिका जनताहरुका नाममा एउटा कार्ड प्राप्त भएको छ । त्यो कार्डको आधारमा निशूल्क कोटा उपलब्ध गराउने र स्थानीय निकाय वडा कार्यालयले सिफारिस गरेका मान्छे गरिब, विपन्न, व्यवासिर हो भनेर भनेको मान्छेलाई उपचार गर्नुपर्ने र यसमा स्वास्थ्य मन्त्रालयले अनुगमन गर्नुपर्ने यो काम अहिले भईरहेको छ ।’

उनले अस्पतालमा अनलाईन मार्फत पनि टिकट लिन मिल्ने व्यवस्थालाई प्रभावकारी ढङ्गले अगाडि बढाएको पनि बताए । उनले डब्लुएच्ओको मापदण्डका अनुसार बजेटको १० प्रतिशत स्वास्थ्यको लागि छुट्टाउनु पर्ने अवस्थामा ४.८ प्रतिशत मात्रै बजेट विनियोजन भएको भन्दै नेपालको दशकको इतिहासमा पहिलो पटक स्वास्थ्य क्षेत्रमा कम बजेट परेको बताए ।

प्रकाशित मिति : ११ असार २०८०, सोमबार १६:२१