१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

अन्तर्राष्ट्रिय सैन्य सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री पोखरेल चीन प्रस्थान

चीनको बेइजिङमा हुने अन्तर्राष्ट्रिय सैन्य सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल आज त्यसतर्फ प्रस्थान गरेका छन । चीनका रक्षामन्त्री वेइ फेङहेको निमन्त्रणमा आठौँ बेइजिङ सियाङग्स्ट्यान फोरममा भाग लिन र साताव्यापी चीन भ्रमणका लागि आज पोखरेल चीन प्रस्थान गरेका हुन ।

रक्षामन्त्रीमा नियुक्तपछि पोखरेलको यो पहिलो विदेश भ्रमण हो । मन्त्रालयका सचिव विष्णुप्रसाद लम्सालले उपप्रधानमन्त्री पोखरेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गरेका थिए । उपप्रधानमन्त्री पोखरेलले नेपाली सेनाले संयुक्त राष्ट्रसङ्घको शान्ति मिसनमा खटिएर गरेको योगदान र भावी चुनौती तथा सहकार्यका बारेमा सम्बोधन गर्ने प्रेस संयोजक लोकेन्द्र केसीले जानकारी दिए ।

भ्रमणकै क्रममा नेपाली सेनाका लागि विपद् व्यवस्थापन परिचालनका लागि १५० मिलियल चिनियाँ युआन चीनले सहयोग गर्ने सम्बन्धी सम्झौतामा पनि हस्ताक्षर हुने जनाइएको छ । विश्वका करीब एक सय मुलुकको प्रतिनिधित्व हुने सम्मेलनमा १५ मुलुकका रक्षामन्त्री र ४० मुलुकका सेना प्रमुखको उपस्थिति हुनेछ । उपप्रधानमन्त्री पोखरेल आगामी मङ्गलबार स्वदेश फर्कनेछन ।

प्रकाशित मिति : October 23, 2018 at 2:50 pm