१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026
http://kk5.io/NADA2026

छुटाउनु भयाे कि ? कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन

१ असार, काठमाडाैं । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज असार १ गते अन्तिम दिन रहेको छ। कम्पनीले जेठ १९ गतेदेखि  आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गरेकाे थियाे ।

साेही आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले आज बैंकिङ समयसम्म आवेदन दिन पाउनेछन्। स्थानीयका लागि भने आईपीओ भर्ने म्याद असार ५ गतेसम्म लम्ब्याइएको छ।

कम्पनीले जारी पुँजी १२ करोड १८ लाख ६७ हजार ५०० रुपैयाँको १० प्रतिशतले हुन आउने सर्वसाधारणका लागि छुट्याइएको १ लाख २१ हजार ८६७ कित्ता सेयरमध्ये १० प्रतिशतले हुन आउने १२ हजार १८६ कित्ता सेयर विदेशमा रहेका नेपाली श्रमिकका लागि निष्कासन गरिएको छ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि पनि जारी पुँजीको १० प्रतिशतले हुन आउने १०० अंकित दरका कुल १ लाख २१ हजार ८६८ कित्ता आईपीओ जारी गरेको छ। यो आईपीओमा दोलखा जिल्लाको कालिञ्चोक गाउँपालिका वडा नं. ९ (साबिकको सुष्पा क्षमावती गाविसका सबै वडा) तथा भीमेश्वर नगरपालिका वडा नं. १ (साबिकको सुद्रावती गाविसका सबै वडा) का बासिन्दाले आवेदन दिन सक्नेछन्।

कम्पनीकाे आईपीओमा लगानिकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १००० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा  एनएमबि क्यापिटल लिमिटेड रहेको छ।

स्थानीयले लक्ष्मी बैंक, सिटिजन्स बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र सिद्धार्थ बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। विदेशमा रहेका नेपाली श्रमिकले भने नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : June 16, 2023 at 11:23 am