२८ चैत्र २०८२, शनिबार | Sun Apr 12 2026

जानकी भारतीय छोरी हुन भन्ने संवादले आदिपुरुषको प्रदर्शनीमा रोक

३२ जेठ, काठमाडौं । नेपाली सेन्सर बोर्डले दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’को प्रदर्शनीमा रोक लगाएको छ । उक्त फिल्ममा समावेश ‘जानकी भारतीय छोरी हुन’ भन्ने संवादमा आपत्ति जनाउँदै फिल्मलाई जाँचपासको प्रमाणपत्र दिन बोर्डले अस्वीकार गरेको छ ।

बोर्डले उक्त संवाद नहटाएसम्म फिल्मलाई सेन्सर पासको प्रमाणपत्र नदिने निर्णय पनि गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिलकुमार दत्तको नेतृत्वमा बिहीबार अपरान्ह फिल्मको सेन्सर कार्य सम्पन्न भएको थियो ।

सेन्सरपछिको निर्णयपत्रमा भनिएको छ, ‘चलचित्रमा जानकीलाई भारतीय छोरीको रुपमा प्रस्तुत भएको संवादमा भारतीय शब्दलाई अनिवार्य रुपमा आवाजरहित (बीप) गर्न लगाई सो पश्चात मात्र चलचित्र जाँच प्रमाणपत्र दिने गरी सार्वजनिक प्रदर्शनको लागि अनुमति दिने निर्णय गरियो ।’

सेन्सर बोर्डको उक्त निर्णयमा अन्य सदस्यले पनि हस्ताक्षर गरेका छन् । अब यो फिल्म प्रदर्शन गर्न उक्त संवाद हटाएर पुनः सेन्सर बोर्डमा पेश गर्नुपर्ने भएको छ ।

संवाद हटाएर पेश गरेपछि मात्र फिल्मले प्रदर्शनको लागि अनुमति पत्र प्राप्त गर्नेछ । शुक्रबारदेखि विश्वव्यापी प्रदर्शन हुन लागेको यो फिल्मको ट्रेलरमा पनि जानकी भारतीय छोरी भएको संवाद प्रस्तुत छ । यो संवादलाई लिएर सामाजिक सञ्जालमा समेत व्यापक विरोध हुँदै आएको छ ।

प्रकाशित मिति : 18:40