१ असार २०८१, शुक्रबार | Fri Jun 14 2024

खै ! कहाँ गयो एमालेको त्यो व्यवस्थित र चुस्त संगठन ?


-किरण देउजा

नेकपा (एमाले) क्याडर बेस पार्टी थियो । अहिले बिचमा देखिन्छ अलिअलि क्याडर जस्तो धेरै चै मास बेस जस्तो । लोकतान्त्रिक प्रक्रिया स्वीकारेको पनि छ, आफ्ना मान्छे नेतृत्वमा ल्यानुपर्यो भने केन्द्रीयता हावी देखिन्छ त्यो पनि सहमतिको नाममा । यही कारण एमाले अब मासबेस पार्टीमा पूर्ण रूपमा रूपान्तरण हुने दिशामा अघि बढेको दखिन्छ ।

आधा दशक अघिसम्म पनि एमालेको व्यवस्थित संगठन देखेर नेपालमा मात्र होईन दक्षिण एसियाली राष्ट्रहरूका नेताहरू समेत अचम्मित हुन्थे । नेपालमा नै चर्चा हुन्थ्यो, “संगठन भनेको एमालेको जस्तो हुनुपर्छ” । त्यो अहिले एकादेशको कथा जस्तो बनेको छ ।

एमालेको व्यवस्थित अनि चुस्त संगठन थियो । तल्लो तह (ग्रासरुट) देखि माथिल्लो तहसम्म अधिकांश ठाँउमा राम्रो सञ्जाल थियो । विद्यार्थी, युवा, शिक्षक, मजदुर, महिला, पेशागत(बुद्धिजिवि, सहकारी, सामुदायिक वन समिति, विभिन्न उपभोक्ता समिति, विद्यालय व्यवस्थापन समिति, पत्रकार, पुर्व सैनिक/प्रहरी, कर्मचारी वृत्त, वकिल, इन्जिनियरिङ) आदि सबै ठाउँमा एमालेको बलियो उपस्थिति थियो ।

संगठन किन भुत्ते भयो त ?

एमाले ढर्रा/जडसुत्रवादी कम्युनिष्टको बस्त्र उतारेर पार्टीमा आन्तरिक लोकतन्त्रको जग बसालेपछि नै संगठन बलियो हुदै गएको पार्टी थियो । आन्तरिक प्रस्तिस्पर्धाले संगठन मजबुत भएको थियो । संगठनमा वर्गीय प्रेम अत्याधिक थियो, दण्ड र जरिवानाको व्यवस्था थियो । लेबी नियमित उठ्थ्यो । कार्यक्रम संगठनले गर्ने गर्थ्यो । निर्वाचन लड्दा व्यक्ति हैन कमिटी लड्थ्यो । आर्थिक परिचालन कमिटिले नै गर्ने गर्दथ्यो । अहिले त्यो अवस्था ठ्याक्कै उल्टो भएको छ ।

एमालेमा विस्तारै आन्तरिक लोकतन्त्रको भरपुर प्रयोग गर्ने नाममा सम्मेलन/अधिवेशनमा आफ्नो समूह (गुट)लाई जसरी पनि जिताउने, नेतृत्व हत्याउने आदि कारणले गर्दा संगठनमा धमिरा लाग्न थाल्यो । अनुशानको कमी हुनथाल्यो । नियमित भेला–बैठक र प्रशिक्षण हुन छोड्यो, लेबि उठ्न छाड्यो अर्थात पार्टीको सदस्यता आफैँ नविकरण गर्ने परम्परा कमजोर बन्दै गयो । यहि कमजोरीको फाइदा उठाउदै “राजनितिक बिचौलियाहरु” हावी भए र सीमित पुजीँपतिले पार्टीमा नेता जन्माउन थाले भने उनीहरूले नै लगानी गरेर समानुपातिकका नाममा सांसदहरू बनाउन थाले ।

कतिसम्म हुन थाल्यो भने, भेला बैठकको खर्च व्यहोर्ने, नेताहरूलाई तिर्थाटन गराउने, उनीहरुले भनेका मान्छेहरुलाई नेतृत्वमा ल्याउन जे सुकै हर्कत हुन थाल्यो । त्यसो हुँदा नेतृत्वले थाहा नपाएको जस्तो गर्न थाल्यो । किनभने विभिन्न आवश्यक चिजहरुको परिपुर्ती ती “राजनितिक बिचौलियाहरुले” नै गर्न थालेका थिए । कसलाई नेता बनाउने-नबाउने निर्णायक हैसियत उनीहरुकै हुन थाल्यो । संगठन भनेर लागेकाहरु विस्तारै पाखा लाग्दै गए । आलोचनात्मक चेत राख्नेहरु निराश हन थाले । पार्टीमा दुई प्रकृतिका नेता कार्यकर्तामात्र टिक्ने अवस्था देखियो । एक दास प्रवृतिका अर्का बोल्दा कारबाहीमा परिएला भनेर डराएका माैनवादीहरू । जसका कारण माैनवादीहरू पार्टीको मुलधारबाटै पाखा लाग्ने अवस्थामा पुगेका छन र बाँकी पनि पुग्दैछन ।

अहिले एमालेको मुख्य समस्या के हो त ?

-संगठन गतिशील नहुनु र वैचारिक अस्पष्टता देखिनु

-पछिल्लो पुस्ताका युवा नेताहरु जनता कार्यकर्ताहरुलाई भन्दा माथिल्लो पुस्ताको नेताहरुप्रति मात्र बफादार हुनु

-पछिल्ला समय कार्यकर्ताहरू होईन दास र हनुमानहरु बढी उत्पादन गर्नु

-अनुशासनको कमी हुनु

-अध्ययन फिटिक्कै नगर्नु

-नियमित भेला बैठक नहुनु

-प्रशिक्षण नहुनु भएका प्रशिक्षण पनि नेताहरूको भाषण सुनेरै सकिनु

-नियमित लेबी नउठ्नु

-फरक मत राख्दा पार्टीमा अर्कै व्यबहार गरिनु

-आलोचना/आत्मोलाचना संस्कृतिमा क्रमश ह्रास आउनु

-भीमकाय कमिटीहरू गठन हुनु

-कमिटिगत प्रणाली निष्क्रिय हुनु

-सांस्कृतिक विचलन देखिनु

-वर्गीय चिन्तन नहुनु

-तल्लोतहका तहका जनतासँग टाढिनु र विचौलीयाहरुसँग उठबस हुनु आदि ।

एमालेको नेताहरुले बुझ्नुपर्ने कुरा

एमाले पार्टी त्यति सजिलै निर्माण भएको होईन । ग्रामिण भेगका जनताहरुले सागसब्जी, दुध, घ्यू आदि बेचेर नियमित लेबी तिरेरै नेताहरु आउँदा मिठो मसिनो खुवाउँदै आफू भुइँमा सुतेर नेताहरुको लागि राम्रै ब्यवस्थापन गरेर पार्टी निर्माणमा योगदान गरेका छन । पार्टीको लागि आफ्नो काम छाडेर लागेका छन । त्यस्ता हजाराैँ कार्यकर्ताको त्याग र तपस्याबाट अहिलेको एमाले निर्माण भएको हो । यद्यपी पद पाउने बेलामा त्यस्ता दुःख गरेका कार्यकर्ता पछाडी पारिएका छन । पद पाउने बेला एमालेमा कुनै योगदान नै नदिएका व्यारीहरू कहिले चाैधरी, गोल्छा,  दुगड त कहिले धर्मको प्यापार गर्ने एकनाथहरू अग्रभावमा देखिन्छन । यद्यपी एमालेका कार्यकर्ताले त्यो सबै बिर्सेर पार्टीप्रतिको माया कायम राखेका छन ।

फागुन ५ मा सुरु गरेको ग्रासरुटले नि स्पष्ट पार्दियो कि समस्या तल होईन माथि नै छ भनेर । अझ नव प्रवेशी र नव धनाढ्यहरू जो अकुत पैसा कमाएर आफू संरक्षण हुनको लागि एमालेमा आएका छन्, समस्या त्यही छ भने प्रष्ट देखियो । एमालेको नेतृत्वले बुझ्नेपर्ने कुरा कहिँकतै ग्रासरुटमा पानी सुक्यो होला त्यहाँ हल्का पानी हाल्ने हो भने दुबो झैँ मौलाएर आउछ भन्ने देखियो । पार्टी बिग्रनु कमजोर हुनुमा नेताहरूको मात्र होइन कार्यकर्ताहरु समेत उत्तिकै दोषी छन् । एमालेमा यस्ताखाले कार्यकर्ताहरु छन्, तिनीहरुको कार्यशैली हेरेर जिम्मेवारी दिने हो भने पार्टीले पुनः सजिलै गति लिन्छ । हाल एमालेमा चार खालको प्रवृति देखिन्छ ।

१. जो बिहानैदेखि नेताको दैलो चहार्दै, कमरेडली भावना बिर्सेर बा, दाइ आदि साइनो लाउँदै चाकरी गरिहाल्ने र आफू मात्र राम्रो हो, फलानो हाम्रो विरोधी हो त्यसलाई जसरी सक्ने भन्दै चुक्ली लगाउनेहरु ।

२. नेताहरु भेट्ने बित्तिकै २/४ वटा फोटो खिच्ने सामाजिक सञ्जाल मार्फत तस्बीर बेच्ने गणेश प्रवृतिका कार्यकर्ता, जसले फलानो नेताहरुसँग मेरो राम्रो सम्बन्ध छ भनेर बिचैलियाको भूमिका निर्वाह गर्न सहज बाटो बनाउने गरेका छन।

३. पार्टी सरकारमा हुँदा चर्का कुरा गर्ने, नियुक्ति सरुवा बढुवामा भाग पाईन्छ कि भनेर मरिहत्ते गर्ने नपाएपछि चर्को विरोध गर्ने र पार्टी परिवर्तन समेत गर्ने ।

४. पार्टी सहि दिशामा हिडेन भनेर चिन्ता गर्नेहरु छन् तिनीहरुलाई पद भए नि ठिकै छ नपाए पनि ठिकै छ जसले पार्टी बाहेक अरु सोच्दैन्नन् , यस्ता खाले कार्यकर्ताहरु पनि छन् जसकाे संरक्षण अब एमालेका निम्ति निकै चुनाैतिपूर्ण हुने देखिन्छ ।

एमाले बचाउने या सक्ने युवा पुस्ताको हातमा छ । किनभने “बा पुस्ताहरुले” दुःख गरेर पार्टीलाई यहाँसम्म ल्याएका छन । “बा पुस्ताहरुले” धेरै कस्ट पनि व्यहोरेका छन । उनीहरूले पर्याप्त फल समेत प्राप्त गरेका छन । २०६० सालसम्म चप्पल पड्काएर हिँडेका नेताहरू अहिले बिना लगानी करोड र अर्बपति बनिसकेका छन । अझ कतिपयले त युवा र विद्यार्थीको मोर्चामा राजनीति गरेरै व्यवसाय गर्नेको भन्दा धेरै कमाएका छन । अब उनीहरूका लागि एमाले हुनु वा नहुनु अर्थात रहनु वा नरहनुले खास अर्थ राख्दैन किनकी प्रायका छोराछोरी युरोप अमेरिकामा रहेका छन भने नेपालमै रहेकाहरूका लागि पनि तीन पुस्ताका लागि पुग्ने सम्पत्तिहरू थुपारिदिएका छन ।

पार्टीमा नै भविष्य छ, पार्टीमा नै करिअर बनाउछु भनेर लाग्नेहरु नै हो अब पार्टीलाई सच्याउदै अघि बढाउने । तुलसीलाल अमात्यले भने झैँ “देश र जनता पार्टीका लागि होईनन्, पार्टी देश र जनताको लागि हुनुपर्छ” । यहि कुरा शिरोधार्य गरेर युवा पुस्ता अघि बढे पार्टीमा नै करिअर खोज्ने/देख्नेको भविष्य उज्ज्वल छ नत्र…

प्रकाशित मिति : ८ जेष्ठ २०८०, सोमबार १०:५९