२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

नक्कली शरणार्थी प्रकरणः रायमाझी-खाँणसहितका १४ जना थप ३ दिन हिरासतमा रहने

३ जेठ, काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका आरोपीहरू थप ३ दिन प्रहरी हिरासतमा रहने भएका छन् । पूर्वमन्त्री, सचिवसहितका अभियुक्तहरूलाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले बुधवार अनुमति दिएको हो ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले आजसम्ममा अनुसन्धान सकेर प्रतिवेदन दिन ताकेता गरे पनि प्रहरीले अनुसन्धान बाँकी रहेको भन्दै म्याद थप गर्न माग गरेको थियो । प्रहरीले आज प्रतिवेदन नबुझाउने भएपछि जिल्ला सरकारी वकिलको कार्यालयले म्याद थपका लागि प्रस्ताव लगेको थियो ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै चलेको ठगी धन्दामा संलग्न भएको आरोपमा पूर्व उपप्रधानमन्त्री एवं एमाले सचिव टोपबहादुर रायमाझी, तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण, सचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित १४ जना पक्राउ परेर प्रहरी हिरासतमा छन् ।

यस प्रकरणमा अर्बमा ठगी भएको अनुमान भए पनि अनुसन्धानका क्रममा २३ करोड बराबर बिगो कायम हुन सक्ने देखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : May 17, 2023 at 6:29 pm