१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

एमालेका सचिव टोपबहादुर र छोरा सन्दीपविरूद्ध पक्राउ पुर्जी

२० वैशाख, काठमाडौं । तत्कालीन ऊर्जामन्त्री तथा नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझीविरूद्ध पक्राउ पुर्जी जारी भएको छ। नेपालीलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिने भन्दै ठगी प्रकरणमा काठमाडौं जिल्ला अदालतले उनी र छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी गरेको हाे ।

यस्तै नेपालीलाई भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दा मानवतस्करीमा संलग्न रहेको अभियोगमा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले आज पाण्डेलाई पेप्सिकोलाबाट पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए ।

उनले भने, “नेपालीलाई भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा ठगी गरेको अभियोगमा सचिव पाण्डेलाई पक्राउ गरी जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको र आवश्यक अनुसन्धान भइरहेको छ ।”

प्रहरीले सचिव पाण्डेलाई पक्राउ गर्न अदालतबाट पक्राउ पुर्जी लिएको थियो । पाण्डे उपराष्ट्रपति कार्यालयमा कार्यरत हुनुअघि गृह मन्त्रालयको सचिव थिए । पाण्डे गृह मन्त्रालयको सचिव रहेका बेला नेपालीलाई भूटानी शरणार्थी बनाउने गिरोहसँग मिलेमतो गरेको आरोप लागेको छ ।

पाण्डेले नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने गिरोहसँग ५० लाख लिएको बुझिएको छ । घटना सार्वजनिक भएको केही समयपछि पक्राउ परेका गिरोहका नाइके केशव दुलालले पाण्डेलाई ५० लाख नगद दिएको बताएका थिए ।  उनकै बयानको आधारमा प्रहरीले उनीविरुद्ध पक्राउ पुर्जी माग गरेको थियो । दुलाल नेपाली कांग्रेसकी नेतृ तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाका पूर्व पीए समेत हुन् ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार १४:२७