८ पुष २०८२, मंगलवार | Tue Dec 23 2025

प्रधानमन्त्रीको भारत भ्रमणमा ‘क्रस बोर्डर डिजिटल पेमेन्ट्स’ सम्बन्धी सम्झाैता हुने

-प्रतिमा मुडभरी

१२ वैशाख, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न भारत भ्रमणमा ‘क्रस बोर्डर डिजिटल पेमेन्ट्स’ सम्बन्धी सम्झौतामा हस्ताक्षर हुने भएको छ । प्रधानन्त्रीको भ्रमणको एजेण्डामा ‘क्रस बोर्डर डिजिटल पेमेन्ट्स’ सम्बन्धी सम्झौताको विषय पनि राखिदिन नेपाल राष्ट्र बैंकबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अनुरोध प्राप्त भएको स्रोतले जनाएको छ ।

सम्झौतामा हस्ताक्षर भएमा नेपाल र भारतबीच क्यूआर कोडमार्फत वित्तीय कारोबार गर्न मिल्नेछ । त्यसका लागि यूनिफाइड पेमेन्ट्स इन्टरफेस (यूपीआई) प्रणाली लागू हुनेछ । प्रधानमन्त्रीको भ्रमणको तयारी भैरहेकै बेलामा नेपाल राष्ट्र बैंक र स्टेट बैंक अफ इण्डियाले यसको आन्तरिक गृहकार्यलाई तीब्र पारेका छन ।

नेपाल राष्ट्र बैंक स्रोतले प्रधानमन्त्रीको आसन्न भारत भ्रमणमा बैंकका तर्फबाट दुईवटा एजेण्डाका लागि पहल भैरहेको तर प्रधानमन्त्रीको भ्रमण अघिल्लो चरणको जस्तो स्थगित नभए ‘क्रस बोर्डर डिजिटल पेमेन्ट्स’ सम्बन्धी सम्झौता हस्ताक्षर हुने जनायो ।

वार्षिकोत्सवको तयारीसँगै ‘क्रस बोर्डर डिजिटल पेमेन्ट्स’को विषयमा समेत आन्तरिक गृहकार्य गरिरहेको राष्ट्र बैंकका अधिकारी यसले बैंकिङ च्यानल भन्दा बाहिर हुने गरेको काराेबारलाई समेत व्यवस्थित गरेर सिस्टम प्रवेश गराउन भूमिका खेल्ने बताउँछन । अहिले भारतमा नेपालका केही बैंकका भिसा कार्डहरूमात्र चल्ने गरेको छ ।

डिजिटल कारोबारमा सहमति जुटेर सम्झौता हुने अवस्था भए व्यवसायिक क्षेत्रले राम्रो लाभ लिन सक्ने ती अधिकारीले बताए । राष्ट्र बैंकको लगानीमा स्थापना भएको नेपाल क्लियरिङ हाउसले ‘क्रस बोर्डर डिजिटल पेमेन्ट्स’का लागि प्राविधिक काम पनि गरिरहेको छ ।

नयाँ सम्झौताले नेपाल आउने भारतीय पर्यटकलाई मुद्रा साट्न सहज हुनेछ । सम्झाैतामा हस्ताक्षर भए नेपालले अनलाइन भुक्तानीका लागि भारतीय ई-वालेटहरू स्वीकार गर्नेछ। यसले दुई देशबीचको व्यापार र पर्यटनमा वृद्धि हुनेछ । यो सम्झौताले नेपालमा रहेका भारतीय पर्यटकहरूले भारतपे, फोनपे, गुगल पे र पेटीएम जस्ता भारतीय ई-वालेटहरू प्रयोग गरी डिजिटल भुक्तानी गर्न सक्नेछन् । सम्झौता गर्ने कुरामा दुवै देश सहमत भइसकेका छन् ।

डिजिटल भुक्तानी सेवाको शुरुवातले भारतीय पर्यटक र नेपालका व्यापारीहरूलाई ठूलो परिमाणमा नगद बोक्ने बोझबाट समेत राहत मिल्नेछ । नेपाल र भारत घनिष्ठ छिमेकी भए पनि दुई देशबीचको आर्थिक लेनदेनमा ठूलो कठिनाइ रहेको छ । यो सम्झौताले भारतीय पर्यटकलाई नेपाल भ्रमण गर्न सहज हुने भएकाले देशको यात्रा र पर्यटन क्षेत्रमा सहयोग पुग्ने नाट्टाका पूर्व अध्यक्ष समेत रहेका वरिष्ठ पर्यटन व्यवसायी सीएन पाण्डे बताउँछन । सम्झाैता भएमा तीर्थयात्रा र स्वास्थ्य र उपचारका लागि भारत जाने नेपालीहरूले समेत ठूलो राहत पाउने पाण्डेको निष्कर्ष रहेको छ ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलवार २०:०२