६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

त्रिशूली अस्पतालकाे मेसू: कांग्रेसको फरक गुटका डाक्टरले हाजिर गर्न पाएनन्


११ वैशाख, नुवाकाेट । नुवाकोटको त्रिशूली अस्पतालले सरुवा भएर आएका निमित्त मेडिकल सुपरिटेन्डेन्ट (मेसू)लाई हाजिर गर्न राेकेकाे छ । हेटाैँडा अस्पतालमा दरबन्दी भएर मन्थली जिल्ला अस्पतालमा कार्यरत रहेका अधिकृत आठौं डा गगन अधिकारीले त्रिशूली अस्पतालमा हाजिर गर्न नपाएका हुन ।

अस्पतालका अध्यक्ष राजु पण्डितले जनप्रतिनिधिको समन्वय बिना नै अधिकारी सरुवा भएर आएकाे भन्दै बागमती प्रदेशका आर्थिक मामिला तथा याेजना मन्त्री बहादुरसिंह लामाकाे आदेशमा हाजिर गर्न राेक लगाएका हुन । कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह कसीले आफू निकटका चिकित्सक निमित्त मेसूकाे रूपमा सरूवा गरेर पठाएका कारण अस्पताल व्यवस्थापनले हाजिर गर्न राेकेके हाे ।

दैनिकीलाई प्राप्त अडियाेमा अस्पतालका अध्यक्ष पण्डितले भनेका छन, `कांग्रेसका दुई केन्द्रीय सदस्य छन । दुबै जना सांसद पनि छन । अनि समन्वय चाहिँ केसीसँग मात्रै गर्ने ? तपाईंले हाजिर गर्न सक्नुहुन्न।´

अध्यक्ष पण्डितले निमित्त मेसूकाे जिम्मेवारी लिन आएका अधिकारीलाई चेतावनीयुक्त भाषामा हाजिर नगर्न अनुराेध गरेपछि अस्पतालमा सन्नाटा छाएकाे छ । यसअघि दशाैँ तहका डा दीपेन्द्र पाण्डेले मेसूकाे जिम्मेवारी लिएकाे भए पनि प्रदेश सरकारले उनकाे काज फिर्ता गरेर स्वास्थ्य मन्त्रालयमा पठाएकाे छ ।

संघीय सरकारले पठाएका पाण्डेलाई चैत्र ३० काे प्रदेश सरकारकाे निर्णयले काज फिर्ता गरेकाे हाे । लगत्तै वैशाख ४ गतेकाे निर्णयमा अधिकारीकाे सरूवाकाे निर्णय भएकाे छ । नुवाकाेटमा विगतदेखि नै केसी र अर्काे समूहका नाममा कांग्रेस निकटकाहरू विभाजित हुँदै आएका छन । राम्रो काम र उत्कृष्ट सेवा दिएकाेमा केही वर्षयता सम्मानित हुँदै आएकाे अस्पताल कांग्रेसको गुटकाे लडाइँले उधाेगतिमा लाग्ने हाे कि भन्ने चिन्ता प्रकट भएकाे छ ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार १५:३४