७ जेष्ठ २०८१, सोमबार | Tue May 21 2024

जग्गाको कित्ताकाट फुकुवा गर्ने सरकारको निर्णय, डुबेका सहकारीलाई राहत


६ वैशाख, काठमाडौँ । सरकारले जग्गाको कित्ताकाट फुकुवा गरेको छ । केही ठूला घरजग्गा कारोबारीको हितमा लुकुछुपी खोलिने गरेको भए पनि केही समययता सरकारले जग्गाको कित्ताकाट रोकेको थियो । मंगलबारको मन्त्रिपरिषद्को बैठकले जग्गाको कित्ताकाट खुला गर्ने निर्णय गरेको हो ।

सरकारको यो निर्णयसँगै जग्गामा पैसा लगानी गरेर डुबेका सहकारी संस्थाहरूले केही राहतको महशुस गर्ने भएका छन । धेरैजसो सहकारीले बचतकर्ताको पैसा जग्गामा लगानी गरेका कारण बचत रकम समेत फिर्ता दिन सकेका थिएनन् ।

सरकारले अर्थतन्त्र लयमा फर्काउने अभियान अन्तर्गत जग्गाको कित्ताकाट खोलिएको जनाएको छ । जग्गाको कित्ताकाट खुल्दा बजारमा तरलताको अभाव नहुने सरकारी पक्षको दाबी छ । जग्गाको वर्गीकरणमा अनपेक्षित ढिलाइ हुँदा र कित्ताकाट रोकिँदा घरजग्गा कारोबारमा ठूलो पूँजी निस्क्रिय रही अर्थतन्त्रको श्रृंखलामा अवरोध सिर्जना भएको सरकारी अधिकारीको निष्कर्ष रहेको छ ।

प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको पूरै चक्र चलायमान बनाउने र देशलाई सामाजिक न्याय, सुशासन र समृद्धिको दिशामा अग्रसर गराउने प्रयासमा सरकार लागिरहेको बताउँदै आएका छन ।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार ०७:५७