५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मिटरब्याज पीडितहरुको माग सम्बोधन नगरे राप्रपाले पनि सँगै आन्दोलन गर्ने लिङदेनको चेतावनी

५ वैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले मिटरब्याज पीडितहरुको मागसम्बोधन नगरे आफ्नो दल पनि उनीहरुसँगै सडकमा उत्रने चेतावनी दिएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा राप्रपा अध्यक्ष लिङ्देनले मिटरब्याज पीडितहरुको माग तत्काल सम्बोधन हुनुपर्ने बताए । उनले राप्रपा जिम्मेवार पार्टी भएको नाताले पीडितको पक्षमा उभिने र माग सम्बोधन नभए राप्रपा पनि सडक संघर्षमा जाने चेतावनी दिए।

उनले भने,‘ हामी भन्न चाहान्छौं कि सरकारले मिटरब्याज पीडितहरु र अहिले तराईमा आन्दोलनमा रहेका हरुवाचरुवाहरुको मागलाई समयमा नै सरकारले सम्बोधन गरोस् । अन्यथा राष्ट्रिय प्रजातन्त्र पार्टी जिम्मेवार पार्टीको नाताले उनीहरुको साथमा सडक संघर्षमा जाने समेत घोषणा गर्दछु ।’

राप्रपा अध्यक्ष लिङदेनले राज्य पीडितको पक्षमा अभिभावक बनेर उभिनु पर्ने ठाउँमा उल्टै न्यायको माग गर्दै आएका मिटरब्याज पीडितहरुमाथि आक्रमण गरेको भन्दै त्यसको भत्र्सना समेत गरे ।

प्रकाशित मिति : 14:14