२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

हराउँदै परम्परागत प्रविधि

केही वर्षअघि घोराही उपमहानगरपालिका–५ निवासी सावित्रा डाँगी ढिकीमा धानदेखि गहँु, जौ, बेसार कुट्नेदेखि जाँतोमा चामल, मकैलगायतको पीठो पिस्ने काम गर्नुहुन्थ्यो । ढिकीमा धान कुटेर बनाएको चामल तथा जाँतोमा पिसेको पीठोबाट बनाएको खाने परिकार स्वादिलो हुने गर्दथ्यो । पूजामा चढाउन चोखो शुद्ध परिकार बनाउन ढिकीमा कुट्नेदेखि जाँतोमा पीठो पिस्ने गर्नुहुन्थ्यो ।

तर, पछिल्लो समय गाउँमा ढिकी तथा जाँतोको विकल्पमा गाउँघरमा विद्युत् पुगेसँगै धान कुट्न, तेल पेल्नदेखि पीठो पिस्न मिल स्थापना भएदेखि ढिकी तथा जाँतो देखिन छोडेको डाँगी बताउनुहुन्छ । “पहिले घरमै कुट्न ढिकी र पीठो पिस्न जाँतो थियो । तर अहिले छैनन्”, उहाँले भन्नुभयो्, “अहिले धान कुट्नेदेखि पिसाउनेसम्म प्रायः काम मिलमै गर्ने गरेका छौँ ।” आफ्नो घरसँगै गाउँका प्रत्येक जसो घरमा देखिने ढिकी तथा जाँतो पछिल्लो समय लोप हुँदै गएको उहाँ बताउनुहुन्छ ।

विगतमा गाउँघरमा कुटानी र पिसानीको माध्यम नै ढिकी र जाँतो हुने गरेकोमा अहिले ती सामग्री हराएको घोराही उपमहानगरपालिका–१८ हात्तीखर्क निवासी खिमा घर्तीमगर बताउनुहुन्छ । भौगोलिक रुपमा विकट र बत्ती पुग्न नसकेका गाउँमा अहिले पनि ढिकी तथा जाँताको प्रयोग हुने गरेको छ । विद्युत् पुगेका ठाउँहरुमा परम्परागत रुपमा रहेका ढिकी तथा जाँतो हराइसकेको घर्तीमगर बताउनुहुन्छ । “पहिले गाउँका सबैजसो घरमा ढिकी र जाँतो हुन्थ्यो । त्यसमै कुटानी तथा पिस्ने काम हुन्थ्यो”, घर्तीमगरले भन्नुभयो्, “ढिकीमा कुटेको र जाँतोमा पिसेको खाद्यान्न सामग्री पोसिलो अनि स्वादिलो पनि हुन्थ्यो ।” सजिलोसँगै आधुनिक विद्युतीय मिलको सञ्चालनले परम्परागत ढिकी तथा जाँतोको प्रयोगलाई लोप हुने अवस्थामा पु¥याएको स्थानीय बताउँछन् ।

परम्परागत रुपमा प्रयोग गर्दै आएका ढिकी तथा जाँतो संरक्षण गर्न सके ती सामग्रीको संरक्षणसँगै अत्यावश्यक वस्तु कुटाउन तथा पिस्न काम लाग्ने घोराही उपमहानगरपालिका–१३ निवासी अमृत घर्तीमगर बताउनुहुन्छ । “मानिसहरुले काममा सुविधा खोज्दै जाँदा हाम्रा परम्परागत सामग्री ढिकी, जाँतोसँगै चिउरी पेल्ने कोल पनि लोप हुने अवस्थामा पुगेका छन्”, उहाँले भन्नुभयोे, “यी सामग्रीको संरक्षण हुन आवश्यक छ ।

प्रकाशित मिति : April 12, 2023 at 12:31 pm