भोटेकोसी बाढी प्रभावितका लागि पानी प्रशोधन व्यवसायी संघद्धारा २ लाख ६८ हजार सहयोग
१३ भदाै, काठमाडौं । भोटेकोसी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्याउन पानी प्रशोधन व्यवसायी संघ नेपालले २ लाख ६८ हजार ४२ रुपैयाँ ३३ पैसा सहयोग रकम संकलन गरेको छ।
संघले आफ्ना आबद्ध सदस्य व्यवसायी तथा विभिन्न कम्पनीबाट रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत बाढी प्रभावितका लागि सहयोग गर्ने जनाएको छ।
संघले सार्वजनिक गरेको विवरणअनुसार १५ वटा फर्म तथा कम्पनीबाट उक्त रकम संकलन गरिएको हो। ती व्यवसायी तथा कम्पनीहरूले आफ्नो क्षमताअनुसार सहयोग गरेका छन्।
संकलित रकममध्ये यूएचएस होल्डिङ्स प्रालिले सबैभन्दा बढी १ लाख १ हजार रुपैयाँ सहयोग गरेको छ। त्यस्तै, एक्वा आशिर्वाद इन्टरप्राइजेजले २५ हजार, निओ इन्टरनेसनल प्रालिले २१ हजार, एप्र स्टिल एन्ड मेटल इन्जिनियरिङ प्रालिले २१ हजार, पाथिभरा सोलार एन्ड वाटर ट्रिटमेन्ट प्रालिले २१ हजार १५५ रुपैयाँ सहयोग गरेका छन्।

त्यस्तै तामु एप्लायन्सेस सप्लायरले २२ हजार २२२ रुपैयाँ २२ पैसा, सोलार हिटर एन्ड वाटर फिल्टर ट्रेडर्सले ११ हजार १११ रुपैयाँ ११ पैसा, युनिभर्सल सोलार एन्ड फिल्टर ट्रेडले ११ हजार १११ रुपैयाँ तथा अन्य व्यवसायी तथा कम्पनीहरूले समेत सहयोग गरेका छन्।
संघका अनुसार भोटेकोसीमा आएको भीषण बाढीबाट प्रभावित भएका नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम संकलन गरिएको हो।
विपद्को समयमा निजी क्षेत्रबाट राहत तथा उद्धारका लागि सहयोग जुटिरहेका बेला पानी प्रशोधन व्यवसायी संघले पनि आफ्ना सदस्य व्यवसायीहरूलाई सहभागी गराउँदै सहयोग रकम संकलन गरेको हो।
संघले बाढी प्रभावितको राहत तथा पुनःस्थापनामा आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाएको छ।
प्रकाशित मिति : August 29, 2026 at 7:01 pm



