बेत्रावतीमा एउटै घरभित्र भेटियो २२ शव, १६ शव भोलिमात्रै निकालिने
१५ भदौ, नुवाकोट । उत्तरगणाधामले चिनिने नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावतीमा एउटै घरभित्र २२ जनाको शव फेला परेको छ । बाढीले आंशिकमात्र भत्किएको र पुरिएको घरमा २२ जनाको शव भेटिएको हो ।
भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीले भदौ १० गते ऐतिहासिक बेतावती बजार नै खण्डहर बनाइदिएको छ । बाढीको ६ दिनको दिन सोमबार घरमा खोजी गर्दा गर्दा २२ जनाको शव एकै ठाउँमा भेटिएको हो । बाढीबाट बच्न एकै ठाउँमा जम्मा भएका उनीहरू त्यहीँ बाढीको शिकार बनेको अनुमान गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक (एसपी) विपिन रेग्मीले शवको संख्या नबताए पनि बेत्रावतीमा पुरिएको घरमा धेरै शव भेटिएको पुष्टि गरे । उनले सोमबार केही शव झिक्दा नै रात परेकाले मंगलबार बिहानैबाट बाँकी शव संकलन गरिने बताए ।
विदुरका जनप्रतिनिधिले भने २२ वटा शव भएको पुष्टि गरेका छन । उनीहरूले उद्धार टोलीले सोमबार ६ वटा शव निकालेको र १६ वटा शव मंगलबार निकालिने बताए । सशस्त्र प्रहरीसहितको सुरक्षा फौजले सोमबार केही शव संकलन गरेको र बाँकी मंगलबार गर्ने उनीहरूले बताएका छन । शवहरू पहिचान गर्न समेत नसकिने अवस्थामा भेटिएको बताइएको छ ।
यसअघि बेत्रावतीका स्थानीय समेत रहेका पत्रका लक्ष्मण डंगोलले पटक पटक उक्त घरमा उद्धार र खोजको काम गर्न माग गरेका थिए । तर प्रधानमन्त्रीदेखि प्रमुख जिल्ला अधिकारीसम्म कसैले पनि सुनेनन् ।
प्रकाशित मिति : September 1, 2026 at 12:20 am


