१३ जेष्ठ २०८१, आईतवार | Sun May 26 2024

नेपाली भाषामाथिको प्रहार संस्कृति र राष्ट्रियतामाथिको प्रहार होः प्रा डा हेमनाथ पौडेल


मुलुकमा राजनीतिक अस्थिरता र आर्थिक मन्दीको प्रभाव परिरहेका बेला त्यसबाट साहित्य क्षेत्र पनि मुक्त छैन । पछिल्लो समयमा नेपाल प्रज्ञा–प्रतिष्ठानमा भएको नियुक्ति र नयाँ नेतृत्वले गरेको आजीवन भत्ता खारेजीको निर्णय र प्रतिष्ठानबाट नेपाली भाषा, व्याकरण र शब्दकोश विभाग हटाइएको विषय विवादित बनेका छन् । यिनै सन्दर्भ र वर्तमानमा नेपाली कविता र समालोचनाको अवस्थामा केन्द्रित रहेर नेपाल प्रज्ञा–प्रतिष्ठान, प्राज्ञ परिषद्का पूर्व सदस्य साहित्यकार प्रा.डा. हेमनाथ पौडेलसँग दैनिकीका प्रधानसम्पादक माधवप्रसाद तिवारीले गरेको कुराकानीको सम्पादित अंशः

अहिले मुलुकमा राजनीतिक अस्थिरता र आर्थिक सङ्कटको अवस्था देखिएको छ ? साहित्य क्षेत्रको अवस्था चाहिँ कस्तो छ ?

साहित्य निरपेक्ष चिज होइन । यो समाज सापेक्ष चिज हो । राजनीतिक र आर्थिक क्रियाकलापबाट नै साहित्य पनि सञ्चालित हुने हुँदा त्यसको प्रभाव साहित्यमा पनि परेकै हुन्छ । साहित्यकार पनि यही समाजको उपज हो । ऊ कुनै न कुनै राजनीतिक विचारधाराबाट प्रभावित हुन्छ र उसलाई पनि बाँच्नका निम्ति अर्थ चाहिन्छ नै । समाजका यावत् कुराहरू राजनीति र अर्थबाट सञ्चालित हुन्छन् । अर्थबेगर केही पनि हुँदैन । यसकारण प्रतिकूल अर्थतन्त्रको प्रभाव साहित्यकारका जीवनमा पनि नपर्ने कुरा हुँदैन । जहाँसम्म साहित्य लेखनको कुरा छ, समाजमा जे जस्ता विसङ्गति र विकृतिहरू देखिन्छन्, जे जस्ता कुरूप पक्षहरू समाजमा हुन्छन्, त्यसको आलोचना साहित्यले गर्छ । साहित्यले समाजको रूपान्तरण गर्ने हुनाले समाजका कुरूप यथार्थप्रति यसले हस्तक्षेप गर्छ र सुन्दर समाजसृजनाको अपेक्षा गर्छ । त्यसकारण साहित्यकारलाई राजनीतिक, आर्थिक अवस्थाले प्रभाव नपार्ने कुरै छैन तर प्रभाव परे पनि एउटा कर्मठ साहित्यकारले लेख्न चाहिँ छाड्दैन, लेखिनै रहन्छ ।

हाल तीनओटै प्रज्ञा–प्रतिष्ठानको गठन भएको छ । हुन त त्यहाँ एकतर्फी राजनीतिक नियुक्ति जस्तै भएको छ । विगतमा सरकारमा भएका सबै दल र विपक्षीलाई पनि समेटिएको देखिएको थियो । यस पटक चाहिँ त्यस्तो भएन भन्ने छ नि किन ?

नेपाल प्रज्ञा–प्रतिष्ठानमा प्राज्ञहरूको नियुक्ति गर्दा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको संयोजकत्वमा अरू दुईजना ख्यातिप्राप्त व्यक्तिहरू रहेको एउटा समिति बन्छ र त्यसले प्रमुख संरक्षक प्रधानमन्त्रीसमक्ष प्राज्ञहरूको सिफारिस गर्छ । त्यसरी सिफारिस गर्दा ऐनबमोजिम सबै विधाको प्रतिनिधित्व हुने गरी लैङ्गिक, जातीय एवं भाषिक समावेशी समेत मिलाई भाषा, साहित्य, संस्कृति, दर्शन र सामाजिक शास्त्र गरी पाँच क्षेत्रका प्राज्ञिक व्यक्तित्वहरू सिफारिस हुने व्यवस्था छ । राजनीतिक, वैचारिक र अन्य समावेशितालाई लिए पनि सिफारिसको मूल आधार भनेको विशेषज्ञता र प्राज्ञिकता नै हो । यस सम्बन्धमा आआफ्नो विषय क्षेत्रमा दख्खल भएका, अध्ययन–अनुसन्धान गरेका र गराउन सक्ने क्षमता भएका तथा सृजनात्मक योगदान गरेका, सम्बन्धित विषयमा उच्च शिक्षा हासिल गरेका व्यक्तिहरू प्रतिष्ठानमा ल्याउने परम्परा छ ।

अहिलेसम्म यसअघि जति पनि प्राज्ञहरू नियुक्त भएका छन् तिनीहरू भाषा, साहित्य, संस्कृति, दर्शन र सामाजिक शास्त्रका क्षेत्रमा योगदान गरेका व्यक्तित्वहरू नै परेका छन् । यसपालिको नियुक्तिका सम्बन्धमा कुरा गर्दा व्यक्तिका विषयमा भने हाम्रो टिप्पणी छैन । व्यक्तिहरू आफ्नो ठाउँमा योग्य नै हुनुहुन्छ । कुरा समावेशिता र विशेषज्ञताको हो । यसपालि त्यस्तो नभई एकतर्फी भयो, केहीबाहेक विभागीय जिम्मेबारी पनि मिलेन । प्रज्ञा–प्रतिष्ठानलाई पार्टीको जनसङ्गठन जस्तै ठानियोे भन्ने टिप्पणी बाहिर छ । यद्यपि त्यहाँ केही योग्य व्यक्ति पनि परेका छन् । मेरा विचारमा अहिले उहाँहरूको मूल्याङ्कन गर्ने बेला भएको छैन । भविष्यमा कस्तो काम गर्नुहुन्छ त्यसबाट नै उहाँहरूको नियुक्तिको औचित्य पुष्टि हुन्छ । अहिलेसम्मका कामलाई हेर्दा चाहिँ उहाँहरूले बनाउनेभन्दा पनि भत्काउने र बिगार्ने काम गर्न सुरु गर्नुभएको देखिन्छ ।

प्रतिष्ठानलाई राजनीतिक कार्यकर्ताको भर्तीकेन्द्रभन्दा प्राज्ञिक केन्द्र बनाउन नसकिने हो र ?

कुनै पनि प्राज्ञ वा कुनै पनि साहित्यकार राजनीतिबाट निरपेक्ष चाहिँ हुँदैन । राजनीतिक, वैचारिक पक्षधरता भएका व्यक्ति पनि त प्राज्ञिक नै हुन् नि । प्राज्ञिक चेतनाभित्र राजनीति पनि पर्दछ । विशुद्ध भन्ने चिज त हुँदै हुँदैन । कुन पार्टीसँग सम्बन्धित व्यक्तिहरूको नियुक्ति भयो भन्ने पनि प्रश्न होइन यो । बहुदलीय व्यवस्था भएका मुलुकमा जहाँ पनि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कुनै न कुनै दलसँग सम्बन्धित व्यक्तिहरू नै नियुक्त भएर आउँछन् । पञ्चायत कालमा पनि दरबारका नजिकका मान्छे नै पर्थे यो त स्वाभाविक कुरा हो । कुरो योग्य, सक्षम र उपयुक्त जनशक्ति भयो कि भएन भन्ने पो हो त । नेपाल प्रज्ञा–प्रतिष्ठान भनेको राज्यको सर्वोच्च प्राज्ञिक निकाय हो । त्यो सर्वोच्च प्राज्ञिक निकायमा नियुक्त गरिने व्यक्ति पनि त्यही किसिमको प्राज्ञिक भयो कि भएन भन्ने प्रश्न चाहिँ प्राज्ञिक जगत्ले गरेको छ । बहुदलीय प्रणाली आएपछिका विगतका नियुक्तिहरूमा एकतर्फी नभएर सबै किसिमको समावेशितालाई मिलाइएको नै देखिन्छ तर यसपालि भने त्यस्तो हुन सकेन भन्ने टिप्पणी छ ।

नव गठित नेपाल प्रज्ञा– प्रतिष्ठानको नेतृत्वले दोहोरो सुविधाको कुरा उठाई प्राज्ञहरूलाई यसअघि दिइदै आएको आजीवदन सदस्यतासम्बन्धी सुविधा कटौती गरेको र नेपाली भाषा व्याकरण र कोश विभाग हटाएकोमा तपाईँहरूको असहमति पाइयो । यसको अन्तर्वस्तु के हो ?

नेपाल प्रज्ञा–प्रतिष्ठान भनेको भाषा र साहित्यको मात्र केन्द्र होइन, समग्र वाङ्मयको विकास र समृद्धिका निम्ति काम गर्ने संस्था हो । यसले त्यस क्षेत्रमा काम गरेर विशिष्ट योगदान गरेका प्राज्ञिकजनहरूलाई योगदानको कदर गर्दै सम्मानका साथै थप योगदान गर्न सकुन् भनेर आजीवन सदस्यता र त्यसबापत वृत्ति पनि प्रदान गर्दै आएको छ । यो सुविधा कसैले मागेर, निवेदन हालेर पाएको होइन । राज्यले आफै योगदानबापत दिएको हो । यसमा एकोहोरो र दोहोरो भनेर हेरिने कुरा हुदैन । आजीवन सदस्यता पारिश्रमिक सुविधा नभएर सम्मान वृत्ति हो । योगदानबापत दिइने हुँदा योगदान गर्ने जो छन् तिनले नै पाउने हुन् । अहिलेको प्राज्ञ परिषद्ले आफू आउने बित्तिकै पहिलो निर्णय नै आजीवन सदस्यता खोस्ने काम गरेर प्राज्ञहरूको अपमान ग¥यो । यो राम्रो भएन भनेर व्यापक आलोचना भइरहेको छ ।

आजीवन सदस्यता पाएका धेरै व्यक्ति आफ्नो राजनीति नजिकका छैनन् भनेर उनीहरूले यसो गरेका त होइनन् ?

यो कुनै राजनीतिक पार्टी वा विचारधाराका व्यक्तिले भागबन्डामा पाउने कुरा होइन । मैले माथि भनेँ नि साधना र प्राज्ञिक योगदानका लागि दिइने वृत्ति हो यो । जसले प्राज्ञिक योगदान गरेको छ त्यस्ता सबै खालका विचारधारा भएका व्यक्तिले पाउनुभएकै छ । वर्तमान नेतृत्वले भने दिइएका आजीवन सदस्यले यो रकम लुटेर खाएका हुन् जस्तो गरी विशिष्ट साधकहरूलाई अपराधी करार गर्दै पत्रकार सम्मेलन नै गरेर खोसेको घोषणा ग¥यो । सत्तरी, असी वर्षका ती बृद्ध व्यक्तित्वहरू जो अन्त काम गर्न पनि सक्नुहुन्न, जो कैयौं वर्षदेखि आजीवन सदस्यता प्राप्त गरी साधना गरिरहनुुभएको छ उहाँहरूलाई अपमान गर्नुका साथै साधनामा पनि असर पु¥याउने काम भयो । यो खोसिएको आजीवन सदस्यताबाफतको रकम हामी अध्ययन–अनुसन्धानका काममा लगाउँछौं भनेर उहाँहरूले जनसाधारणमा भ्रम दिन खोज्नुभएको रहेछ तर उहाँहरूलाई के जानकारी भएन भने यो रकम चाहिँ बेग्लै शीर्षकमा निकासा हुने हुनाले रकमान्तर गरेर अरू शीर्षकमा लगाउन पाइँदैन । त्योे रकम फिर्ता भएर जान्छ र त्यसले समग्र प्राज्ञिक क्षेत्रलाई नै नोक्सान पु¥याउँछ ।

प्रज्ञा–प्रतिष्ठानको वर्तमान परिषद्ले त्यसरी निर्णय गर्न मिल्छ त ?

उहाँहरूले परिषद्को बैठकबाट रोकिएको छ भनेर निर्णय सार्वजनिक गरिसक्नुभयो । यसबारे परिषद्ले नै चाहिँ रोक्न पाउँदैन । ऐनअनुसार परिषद्को सिफारिसमा सभाले आजीवन सदस्यता प्रदान गर्ने भएकाले सभाले गरेको निर्णयलाई परिषद्ले बदर गर्न सक्दैन । परिषद्भन्दा सभा माथिल्लो हो । त्यसैले त्यो निर्णय ऐन, नियम र कार्यविधि विपरीत छ ।

प्रतिष्ठानले नेपाली भाषा, व्याकरण र कोश विभागबाट नेपाली हटाएकोमा पनि तपाईँहरूको विरोध रहेछ, यो चाहिँ किन नि ?

नेपाली भाषा भनेको नेपालका अधिकांश जनताले बोल्ने भाषा हो र यो साझा सम्पर्क भाषा र संविधानबमोजिम सरकारी कामकाजको भाषा पनि हो । प्रतिष्ठानले भाषाका सम्बन्धमा दुईओटा विभाग गठन गरेर विगतदेखि नै अध्ययन–अनुसन्धान गर्दै, गराउँदै आएको इतिहास छ । यसमा एउटा मातृभाषा, व्याकरण र कोश विभाग अनि अर्को नेपाली भाषा, व्याकरण र कोश विभाग हुन् । अहिले कुलपति भूपाल राईको नेतृत्वमा आएको यो परिषद्ले मातृभाषा, व्याकरण र कोश विभाग यथावत् राख्यो तर अर्को नेपाली भाषा, व्याकरण र कोश विभागबाट चाहिँ नेपाली हटायो । अहिलेको परिषद्मा कुलपतिसहित तीनजना व्यक्तिहरू नेपाली भाषाप्रति दुराशाय राख्ने व्यक्तिहरू हुनुहुँदोरहेछ । उहाँहरूले नेपाली भाषा भन्नु जरुरी छैन । यसलाई खस भाषा भन्नुपर्छ भन्नुभएछ र नेपालीको सट्टामा खस शब्द राख्न खोज्नुभएछ अनि खस भाषा विभाग बनाउँने प्रस्ताव गर्नुभएछ । केही प्राज्ञले असहमति जनाउनुभएपछि खस पनि नराखौँ, नेपाली पनि नराखौँ भनेर भाषा, व्याकरण र कोश विभाग भनेर उहाँले सार्वजनिक गर्नुभयो । भाषा, व्याकरण र कोश विभाग भनेको गुजराँती, हिन्दी, मराठी, तिब्बती कुन भाषा विभाग हो ? नेपाली भाषाप्रतिको यो दुराशय किन ? उहाँहरूलाई नेपाली शब्द राख्न केको आपत्ति हो ? संविधानले नै नेपाली भाषा भनेको अवस्थामा संविधानविरोधी कार्य गर्न मिल्छ र ? उहाँहरूको नेपाली भाषाप्रतिको दुराशयपूर्ण व्यवहारप्रति हाम्रो आपत्ति छ । यस सम्बन्धमा साहित्य सन्ध्याले त विज्ञप्ति नै निकाल्यो । अरू थुप्रै नेपाली भाषालाई माया गर्ने व्यक्तित्वहरूले समेत आपत्ति जनाउनुभएको छ ।

कुरा के छ भने जो अहिले नेपाल प्रज्ञा–प्रतिष्ठानमा नियुक्त हुनुुभएको छ केही मातृभाषी साथीहरू, उहाँहरू पनि नेपाली भाषामा सृजना लेखेर नै यस ठाउँमा आउनुभएको हो । उहाँहरूले आफ्नो मातृभाषामा साहित्य लेखेर पहिचान बनाउनुभएको होइन । नेपाली भाषामै उहाँहरूले कविता, उपन्यास आदि सिर्जना गर्नुभएको छ । त्यही नेपाली भाषामा लेखेर उहाँहरू प्राज्ञ हुनुभएको छ अनि त्यही भाषाप्रतिको द्रोह किन ? उहाँहरूलाई हामीले भनेका छौँ– नेपाली भाषाप्रतिको तपाईँहरूको यो विद्वेष हटाउनुहोस् र नेपालीलाई पुनः स्थापना गर्नुहोस् ।

नेपाल प्रज्ञा–प्रतिष्ठान भनेको अविछिन्न उत्तराधिकारवाला संस्था हो । हिजोका प्राज्ञ परिषद्ले गरेका कामहरूलाई अहिलेको परिषद्ले पनि निरन्तरता दिनुपर्छ तर पूर्वाग्रह राखेर उहाँहरूले जायज कामहरूलाई पनि उल्ट्याउने र पे्रसमा गएका अनुसन्धानात्मक कृति छाप्न रोक्ने निर्णय गर्न थाल्नुभएको छ । डिल्लीबजार मैतीदेवीमा महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय निर्माण भएकोे छ । अहिले कुलपतिले भन्नुभयो रे यो सङ्ग्रहालयको के काम छ ? अनि उहाँले त्यस सङ्ग्रहालयमा राखिएको उद्घाटन अभिलेख पनि उखेलेर फाल्दिनु भनेर निर्देशन दिनुभयो रे । प्रज्ञा–प्रतिष्ठानमा राखिएका स्थापनाकालदेखिका इतिहास जनाउने प्राज्ञहरूका तस्बिरहरू हटाउन पनि निर्देशन दिनुभयो रे । यसरी नयाँ काम गर्ने नाममा उहाँहरू इतिहास मेटाउन लाग्नुभएको देखिन्छ । यो बहादुरी केका लागि हो ?

प्रज्ञा–प्रतिष्ठानमा यसभन्दा अगाडि मातृभाषा र साहित्यका सम्बन्धमा प्रशस्त कामहरू भएका छन् । थुप्रै भाषाका शब्दकोश र व्याकरण तयार भई प्रकाशन भएका छन् र कति त प्रकाशोन्मुख छन् । हामीभन्दा अगाडिका प्राज्ञ परिषद्हरूले पनि थुप्रै कामहरू गर्नुभएको छ । हामीले पनि उहाँहरूका कामलाई निरन्तरता दिएका थियौँ । केही दिनअघि कुलपति राईले एउटा मिडियामा के भन्नुभयो भने– मातृभाषा, साहित्यका बारेमा प्रज्ञाबाट अहिलेसम्म केही काम नै भएको छैन । अब हामी थालनी गर्छौँ । मातृभाषाका सम्बन्धमा त्यहाँ जे काम भएका छन् ती कामहरू उहाँहरूले जानकारीमै लिनुभएकोे छैन । उहाँहरूले अर्को एउटा अफवाह के फैलाइरहनुभएको छ भने हिजोको नेतृत्वले विश्वविद्यालयका थेसिस ल्याएर छाप्यो, अब हामी त्यसो गर्दैनौँ । कुनै पनि विश्वविद्यालयले गराएका अनुसन्धानहरू त्यहाँ छापिदैनन् । नेपाल प्रज्ञा–प्रतिष्ठानमा भए, गरेका अनुसन्धानहरू मात्र त्यसमा पनि विज्ञले मूल्याङ्कन गर्दा छाप्न योग्य ठहरिएका मात्रै छापिन्छन् । अनुसन्धान गराउने काम प्रज्ञाको होइन, प्रज्ञाले अनुसन्धान गराउने काम किन गर्ने ? यो त विश्वविद्यालयहरूको काम हो भन्ने कुलपति राईको बुझाइ देखिन्छ । नेपाली भाषा विभाग हटाएपछि सचिवका तर्फबाट एउटा वक्तव्य निकाल्नुभयो तर त्यो झुटो थियो । अझै पनि उहाँहरू नेपाली भाषालाई हामी स्थापित गर्छौँ भन्न सकिरहनुभएको छैन । अब नेपाली भाषीप्रेमीहरू यसलाई स्थापना गराउन लाग्नुपर्ने भएको छ । विगतमा पनि लोकसेवाबाट नेपाली भाषा हटाउँदा होस् वा उच्च मा.वि को पाठ्यक्रमको भार कम गर्दा होस् । हरेक अवस्थामा आन्दोलनहरू गर्नुपरेको अवस्था छ र फेरि पनि त्यस्तो किसिमको आन्दोलन गर्नुपर्ने अवस्था आउँन सक्छ ।

सरकारले सवारी साधनहरूमा रोमन लिपिमा इम्बोस्ट नम्बर जडान गर्ने भनेर पहिलेदेखि नै पटक पटक परिपत्र गरिरहेको छ । हामीले यसको विरोध ग¥यौँ र नेपाली लिपि नै राखिनुपर्छ भनेर त्यसलाई कार्यान्वयन गरेनौँ । यस सम्बन्धमा पटक पटक फेरिएका सकार प्रमुख प्रधानमन्त्री, सम्बन्धित मन्त्री र निकायहरूलाई ध्यानाकर्षण गराउने काम पनि गरिएको छ । अरू पनि थुप्रै भाषासाहित्यसँग सम्बन्धित संस्थाहरूले यसको विरोध गरेका छन् । हामीले इम्बोस्ट नम्बर रोमनमा होइन, देवनागरी लिपिमै राखिनुपर्छ । यससँग नेपाली संस्कृति र मौलिकता जोडिएको हुनाले त्यो गुम्ने खतरा हुन्छ भनेर आवाज उठायौं । नेपाल प्रज्ञा–प्रतिष्ठानका तर्फबाट तत्कालीन कुलपति वरिष्ठ साहित्यकार गङ्गाप्रसाद उप्रेतीको नेतृत्वमा हामीले प्रधानमन्त्री र मन्त्रीहरूलाई भेट्यौँ । ध्यानाकर्षण गरायौँ । उहाँहरूले नेपाली लिपि नै त्यसमा प्रयोग गराउने भनेर हामीलाई आश्वासन पनि दिनुभएको हो तर अहिलेसम्म कार्यान्वयन भएको छैन ।

नेपालीहरूको जुन खालको भाषा, संस्कृति र सभ्यता छ त्यसमा हामीले गर्व गर्ने विषय छ । यसमा राष्ट्रियता पनि जोडिएको छ त्यसलाई सिध्याउन खोजिएको त होइन ?

नेपाली भाषा र संस्कृतिमाथि आक्रमण नगरी यहाँकोे राष्ट्रियता सिद्ध्याउन सकिन्न भन्ने कुरामा विदेशी तत्त्वहरू लागिरहेकै छन् नि । यस कुरामा पनि घुसपैठ हुन सक्छ । राष्ट्रियता नसिद्ध्याई मुलुकलाई तहसनहस पार्न सकिन्न । यसैले पनि पहिलो आक्रमण नेपाली भाषामाथि गराएको हुन सक्छ । इम्बोस्ट नम्बर जडानको कुरा पनि यससँगै जोडिन्छ । यो पनि नेपाली मौलिकता, संस्कृति र भाषा सिद्ध्याउने प्रयत्न नै त हो नि । अहिलेको प्राज्ञ परिषद्ले नेपाल प्रज्ञाप्रतिष्ठानमा आउने बित्तिकै प्रज्ञाका सबारी साधनमा इम्बोस्ट नम्बर राख्ने जुन प्रयत्न ग¥यो, यसमा पनि कुनै न कुनै प्रभाव छैन भन्न सकिन्न । अस्ति मात्र यातायात मन्त्री नारायणकाजी श्रेष्ठले देवनागरी लिपि नै प्रयोग गराउँछु भनेको सुनियो तर उहाँ अर्को मन्त्रालयमा गइसक्नुभयो । उहाँको त्यो कुरा कार्यान्वयन भएको भए सुखद हुन्थ्यो । अब नयाँ मन्त्री आउनुभएको छ । उहाँले पनि यस बारेमा सोच्नुहोला ।

अब केही साहित्यिक विमर्श गरौँ । नेपाली साहित्यलाई हेर्दा लेखक, प्रकाशक र पाठकको बजार कस्तो छ ? सूचना प्रविधिको प्रयोगले पुस्तकको प्रकाशन र बिक्री घट्न थालेको हो ?

नेपाली साहित्यका लेखक र प्रकाशक बढ्दै गएका छन् तर पाठक अझै पनि बढ्न सकेका छैनन् र पुस्तक बिक्री त तपाईँले भनेजस्तो सूचना प्रविधिका कारण घटेकै छ । अब पुस्तक किनेर पढ्नेभन्दा पनि वेवसाइडबाट सामग्री लिनेको सङ्ख्या बढ्दो छ । पुस्तको कुरा गर्दा सीमित कृतिबाहेक गुणस्तरीय भएर पनि धेरैले पाठक नै पाउँदैनन् । नेपालीमा विश्वमा दाजिन सक्ने खालका कृति प्रकाशित नभएका भने होइनन् । साहित्यको बजारको कुरा गर्दा हामी अरू मुलुकभन्दा निकै पछि छौँ । हामी प्रशस्त कृतिहरू प्रकाशित गर्छौं तर बजारमा बिक्री हुँदैनन् । बजार व्यवस्थापन राम्रो हुन सकेको छैन । विक्रीवितरण पनि नेपालमै मात्र सीमित छ । हामी कसै कसैले बोकेर कुनै कृति बाहिर लग्यौँ भने त्यो अलग कुरा हो नत्र सहजरूपमा अन्तर्राष्ट्रिय स्तरमा पु¥याउन हामीले सकेका छैनौँ । नेपाली समुदाय भएका भारतका कतिपय प्रान्तमा समेत हाम्रा कृति पुग्न सकेका छैनन् । त्यसकारण बजार हाम्रो एकदमै सीमित छ । नेपाल सरकारले त्यसलाई सहजीकरण गर्दिनुपर्ने हो । म कलकत्ता र गुहाटी गएका बेला त्यहाँका साथीहरूले नेपालमा प्रकाशित भएका कृति सहजरूपमा कसरी उपलब्ध हुन्छन् भनेर कुरा उठाउनुभयो । भन्सारबाट कृतिहरू सहज रूपमा पार गरेर बाहिर जान सकिरहेका छैनन् । भारत सरकारले रोकिदिन्छ । भारतका कृति भने यहाँ निर्बाध रूपमा आउँछन् ।

कुटनीतिक पहलका लागि तपाईहरूले नेपाल प्रज्ञाप्रतिष्ठानबाट सरकार मार्फत प्रयत्न गर्नुभएन ?

हामीले पनि गरेका हौँ र पुस्तक बिक्रेता सङ्घले पनि गरिरहेको छ तर अझै पनि हुन सकिरहेको छैन । उत्पादन प्रशस्तै छ । नेपालमा राम्रा कृतिहरू पनि प्रशस्तै लेखिएका छन् । राम्रा साहित्यकारहरू पनि छन् तर बजार व्यवस्थापन अझै व्यवस्थित छैन । किताब छापिन्छन्, थन्केर बस्छन् । नेपाल प्रज्ञाप्रतिष्ठानबाट विगतदेखि नै धेरै राम्रा कृतिहरू प्रकाशित भएका छन् । हामीले चार वर्षको कार्यकालमा पनि तीन सयभन्दा बढी अनुसन्धानात्मक कृति प्रकाशन गरेका छौँ । वितरणको व्यवस्था पनि गर्न खोज्यौँ तर चाहेजति हुन सकेन । एउटा प्रकाशन संस्थाले टेन्डर पारेर वितरणको सम्झौता पनि ग¥यो तर सफल भएन । त्यहाँ कैयौँ कृतिहरू थन्केर बसेका छन् । अरू संस्थाहरूको पनि हालत त्यही हो । त्यस कारण यस बारेमा राज्यले सहजीकरण गरिदिनुपर्छ भन्ने मलाई लाग्छ ।

तपाईँले नेपाली कवितामा विद्यावारिधि गर्नुभएको नाताले कविता विधाको अहिलेको अवस्था कस्तो देख्नुहुन्छ ?

कविता सबैभन्दा बढी लेखिने, छापिने र लोकप्रिय विधा पनि हो । हाम्रा कविहरूले पनि विश्वका कवितासँग तुलना गर्न सकिने कविताहरू नलेखेका हैनन् । यस्ता कविता हिजो पनि थिए र आज पनि लेखिएका छन् । बजारको कुरा गर्दा अरू विधाको जुन हालत छ कविताको पनि त्यही नै हो । प्रशस्त मात्रामा लेखिन्छन्, छापिन्छन् तर कम विक्री हुन्छन् ।

जे लेखे पनि कविता हुने, जो पनि कवि बन्ने गरेको गुनासो सुनिन्छ नि ? कस्तालाई कविता भन्ने कसलाई कवि भन्ने ? यसको मापनको आधार के हो ?

जे लेखे पनि कविता बन्दैन । कविता हुन कवितामा हुनुपर्ने गुणहरू आवश्यक हुन्छ । अरू विधाबाट कवितालाई अलग्याउने तत्त्व भनेको लय हो तर लयले मात्रै कविता बन्दैन । अन्तर्वस्तु र रूपको सुन्दर संयोजन कवितामा आवश्यक हुन्छ । भाव, भाषा र लयको त्रिवेणी हो कविता । अन्तर्वस्तुको कुरा गर्दा त्यहाँ विचार पनि आउँछ । कविताले मान्छेको हृदय छुन सक्नुप¥यो । हृदय छुन विचार र कला दुवै चाहिन्छ । यसो भयो भने मात्र कविता बन्छ । साहित्यलाई पनि हामी कला नै भन्छौँ तर कला कलाका लागि नभएर जीवनका लागि भएकाले यसले मानिसको हृदयलाई आह्लादित गर्न सक्नुप¥यो । त्यसपछि समाज परिवर्तनको कुरा आउँछ । साहित्यले असल समाज सिर्जना गर्नका निम्ति भूमिका खेल्छ । त्यसैले जे लेखे पनि कविता बन्दैन ।

प्राध्यापकहरूले लेखेका समालोचनालाई प्राध्यापकीय समालोचना भनेर बेग्लै दर्जा दिने गरिन्छ ? यहाँ राम्रो समालोचक पनि हुनुहुन्छ । यस बारेमा केही बताइदिनु न ?

प्राध्यापकीय समालोचना भनेको सिद्धान्तमा आधारित, अनुसन्धान गरी लेखिएको वस्तुपरक र विश्लेषणात्मक समालोचना हो । कुनै कृति र व्यक्तिका बारेमा स्वतन्त्र रूपमा प्रभावपरक ढङ्गले लेखिएको समालोचनाभन्दा प्राध्यापकीय समालोचना बढी वस्तुपरक, बौद्धिक र प्राज्ञिक हुन्छ । हरेक साहित्यकार आफैमा एउटा समालोचक त हो तर त्यसको पनि समालोचना चाहिँ अर्काे कुरा हो । सिद्धान्तनिष्ठ, अनुसन्धानात्मक समालोचना लेख्न निकै कठिन हुन्छ । यही कठिन भएर नै अरूले बौद्धिक, प्राज्ञिक एवं वस्तुनिष्ठ समालोचनालाई प्राध्यापकीय समलोचना भनिदिएका हुन् । संसारका कुनै पनि विश्वविद्यालयमा पदोन्नतिका लागि र वृत्ति विकासका लागि पनि अनुसन्धान विधिको प्रयोग भएका लेखरचना मागिन्छन् । अनुसन्धान विधि मिलेन भने त्यस्ता लेखको मूल्याङ्कन हुँदैन । यस्ता लेख प्राध्यापकहरूले नै लेख्न सक्छन् ।

साहित्यमा सम्मान र पुरस्कारहरु धेरै छन् । नेपाली साहित्य क्षेत्रमा दिइने पुरस्कार र सम्मानका विकृतिबारे के भन्नुहुन्छ ?

साहित्यिक क्षेत्रमा आजभोलि सरकारी, गैह्रसरकारी, निजी गरेर धेरै पुरस्कारहरूको स्थापना भएको छ । यो खुसीको कुरा पनि हो तर यससँगसँगै विकृति पनि बढेको छ । कतिपय पुरस्कार जुन उद्देश्यका लागि स्थापना भएको हो त्यसअनुसार प्रदान नगरिएको, सस्तो लोकप्रियताका लागि र कसैलाई खुसी पार्न प्रदान गर्ने गरेको पनि देखिन्छ । कतिपयले त लेनदेन गरेको पनि पाइन्छ भने कतिपयले पुरस्कारको राशि आफै दिएर आफैलाई पुरस्कार दिन लगाएको पनि पाइन्छ । यस्ता अनेक विकृति बढेका छन् समाजमा । आफ्ना नाममा पुुस्कार र पदक राखेर लोगो वितरण गरेर सबैलाई डाम्ने चलन पनि खुब चलेको छ आजभोलि । त्यसैले पुरस्कार र सम्मान आजभोलि अति नै सस्तो भएको छ । यसका बारेमा छलफल र विमर्श हुनु आवश्यक छ र कतिपय पुरस्कार र पदकले डामिनबाट सतर्क पनि हुनुपर्दछ भन्ने मलाई लाग्दछ ।

अन्त्यमा समय दिनुभयो यसका लागि यहाँलाई धन्यवाद !

मलाई आफ्ना कुरा राख्न दिनुभएकोमा तपाईं र दैनिकी डटकम परिवारलाई पनि धन्यवाद !

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहीबार ०८:४२