३० जेष्ठ २०८३, शनिबार | Sun Jun 14 2026

तीन महिनाजति प्रधानमन्त्री र मन्त्रीहरूको अनुहार नै देख्न नपरे हुन्थ्योः गगन थापा

२२ चैत, काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले, नेपालको अर्थतन्त्र सुधारका लागि राष्ट्रपति, प्रधानमन्त्रीलगायत सरकारी अधिकारीको सेवा सुविधा कटौती गर्न प्रस्ताव गरेका छन् ।

बुधबार काठमाडौँमा आयोजित नेपाल वित्तीय संस्था कर्मचारी सङ्घको राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा उनले सबैले समयमा ध्यान नपुर्याउदा नेपालको अर्थतन्त्र नाजुक अवस्थामा पुगेको अझै पनि सचेत नहुने हो भने झनै खतरा निम्तने चेतावनी दिए ।

मुलुकको वर्तमान स्थितिलाई मध्यनजर गर्दै सेवा सुविधाहरू घटाउनु पर्ने उनको सुझाव छ । उनले भने ‘सरकारले तत्काल गर्नुपर्नेमा जो गर्न सकेको छैन । प्रधानमन्त्री र राष्ट्रपतिले भन्न सक्नुपर्छ १२ जना १५ जना सल्लाकार राख्ने कानुनी प्रावधान छ तर म ५ जना मात्र राख्छु । हामी अप्ठेरो अवस्थामा छौँ ।

त्यसैले प्रधानमन्त्री सहित सबैले अत्यावश्यक बाहेक सबै खर्च कटौती गर्ने छौँ ।’ मन्त्रीहरू फोटो खिच्ने घुम्ने समय नभएको भन्दै उनले यो ३ महिना मन्त्रीहरूले अर्थतन्त्र सुधारका लागि सक्दो प्रयास गर्नु पर्ने बताए ।

उनले भने, ‘प्रधानमन्त्री र मन्त्रीहरूको समाचार आयो भने नराम्रो नरमाइलो लाग्छ । फुर्सद कसरी पाउनुभयो । प्रधानमन्त्री र मन्त्रीले त यो बेलामा फोटो खिच्नु पनि पर्दैन । तीन महिनाजति प्रधानमन्त्री र मन्त्रीहरूको कहीँ टेलिभिजन र अनलाइनमा अनुहारै देख्न नपाए हुन्थ्यो । त्यो भनेको नराम्रो सेन्समा होइन ।’

उनले अब देशको पाँच वर्ष कांग्रेसको काँधमा रहेको सबैलाई एकजुट भएर गम्भीर रूपमा लाग्नुपर्ने बताए ।

प्रकाशित मिति : April 5, 2023 at 3:45 pm