३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

नागरिकता सम्बन्धी विधेयक संसद्मा पेस गर्न काँग्रेस महामन्त्री थापाको माग

१५ चैत, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले छिटो भन्दा छिटो नागरिकता सम्बन्धी विधेयक सदनमा पेस गर्न सरकारसंग माग गरेका छन् । बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै महामन्त्री थापाले, राजनीतिक दल बीचका विमतिलाई थाती राखेर भए पनि नागरिकता सम्बन्धी विधेयक यही सत्रमा सदनमा टेबल गर्न सरकारसंग माग गरेका हुन् ।

विमतिलाई एकतिर राख्दै सहमति बनिसकेको जन्मसिद्धको सन्तानले संविधानतः नागरिकता पाउनु पर्ने अधिकारका लागि आमाको नामबाट नागरिकता पाउनुपर्ने विषयहरूलाई समेटेर छिटो सांसदबाट कानुन निर्माण प्रक्रिया थाल्न उनले सरकारको ध्यानाकर्षण गराएका छन्।

अहिलेको समस्या समाधानका लागि वंशज र आमाको नामबाट नागरिकता पाउने कानूनी प्रक्रियालाई तत्काल अगाडि बढाउनुपर्ने बताउँदै उनले भने ‘नागरिकताको कानूनको सम्बन्धमा यहाँ भित्र भएका राजनीतिक दलका बीचमा जुन विमति छ त्यसलाई थाती राखेर हाम्रो बीचमा समझदारी भैसकेको जन्मसिद्धको सन्तानले संविधान तह नागरिकता पाउनु पर्ने कुरालाई कार्यान्वयन गर्न आमाको नामबाट नागरिकता पाउनुपर्ने विषयहरुलाइ कार्यान्वयन गर्ने सन्दर्भ जसमा हामी एक मत छौँ ती विषयलाई मात्र भए पनि समेटेर सरकारले अविलम्ब सांसदबाट पारित गर्ने गरी नागरिकता सम्बन्धी कानुन यही सदनमा यही सत्रमा टेबल गर्नका लागि म गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’

नेपाली नागरिकबाट जन्मिएका सन्तानले वंशजको आधारमा नेपाली नागरिकता पाउने नैसर्गिक अधिकारबाट वञ्चित हुँदा उनीहरूले पासपोर्ट बनाउन तथा बैङ्क खाता नपाएकाले मिटरब्याजीको मारमा परेको उनको भनाई छ । विगत लामो समय देखि संसद्मा नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक अड्किएको छ ।

प्रकाशित मिति : March 29, 2023 at 4:40 pm