लगानी दिन सक्ने भए पनि बैंक तथा वित्तीय संस्थाले ऋण प्रवाह गरेनन्ः नारायण पोखरेल
१० चैत, काठमाडौँ । नेपाल राष्ट्र बैंकका सह प्रवक्ता नारायण पोखरेलले, बैंक तथा वित्तीय संस्थाको लगानी दिन सक्ने हैसियत भएता पनि ऋण प्रवाह नगरेको आरोप लगाएका छन् ।
बैंक तथा वित्तीय संस्थामा दृष्टि विहीन महिलाहरूको समस्या विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले प्रत्येक बैंक तथा वित्तीय संस्थाले ७ अरब रुपैयाँको रकम राष्ट्र बैंकमा थन्काएर राखेको बताएका हुन् ।
‘बैंक तथा वित्तीय संस्थाको लगानी दिन सक्ने हैसियत छ । बैंक तथा वित्तीय संस्थाले एक अर्कोलाई ७ प्रतिशत व्याजका ऋण दिने काम भएको छ । प्रत्येक बैंक तथा वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकमा ७ अरब रुपैयाँ थन्काएर राखेका छन्। यदि ऋणको माग भएको भए ऋणमा प्रवाह गर्नुहुन्थ्यो । राष्ट्र बैंकले १ रुपैयाँ पनि व्याज दिँदैन ।’
सोही कार्यक्रममा बोल्दै युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष देवराज रोक्काले नागरिकले राज्य भएको अनुभूति गर्न नसकेको टिप्पणी गरे । बैंक तथा वित्तीय संस्थामा अपाङ्गता भएका व्यक्तिहरूको समस्या बढ्दै गएको र त्यसलाई नियन्त्रण गर्न सरकारको पक्षबाट केही पहल नभएको उनको आरोप छ ।
प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार १५:०८












