६ मंसिर २०८१, बिहीबार | Thu Nov 21 2024

सहकारीमा देखिएका समस्या समाधानका लागि बोर्डले नियमित अनुगमन गर्नुपर्छः प्रधानमन्त्री

५ चैत, काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैंक, लघुवित्त र सहकारी संस्थाहरूमा देखिएका समस्याहरू समीक्षा प्याकेजमा सम्बोधन गर्न बैठक बोलाउने भएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित राष्ट्रिय सहकारी विकास बोर्डको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले वित्तीय संस्थाहरूको अनुगमन र नियमन गर्न आवश्यक रहेको भन्दै तत्काल सबैलाई राखेर छलफल गर्ने बताएका हुन् ।

 ‘‘कुनै समयमा लघुवित्तले निकै राम्रो काम गरेका थिए। मुख्यतः ग्रामीण बस्तीमा सहज र सरल कर्जा प्रवाह गरेको थियो। तर, अहिले जनताले लघुवित्तप्रति कैयौं प्रश्नहरू उठाएका छन् । सहकारीहरूमा पनि कैयौं समस्या देखिएका छन् । यिनीहरूको बृहत समीक्षा गरी आगामी नीति तर्जुमा गर्न जरूरी छ।’’ प्रधानमन्त्रीको भनाई उदृत गर्दै उनकाे सचिवालयले लेखेको छ ।

प्रचण्डले भने ‘बैक तथा वित्तीय संस्थाहरूको समीक्षा आवश्यक छ । त्यसरी मात्र हामीले व्यवस्थित र वैज्ञानिक नीति तय गर्न सक्छौँ’ यनले भने, ‘केही दिनमा नै बैंक, वित्तीय संस्था र सहकारीहरूको बृहत समीक्षा बैठक बोलाउने सोच्दैछु । बृहत समीक्षा गरेर यस क्षेत्रका समस्या पहिचान र समाधान गर्छौं।’

साथै, बैठकमा उनले सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि सहकारी बोर्डले नियमित अनुगमन गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार ११:५२