समस्याग्रस्त सहकारीका नाममा दर्ता भएका सवारी साधन तत्काल बुझाउन निर्देशन
१५ असोज, काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषणा गरिएका सहकारी संस्था तथा तिनले लगानी वा सञ्चालन गरेका संस्थाहरूको नाममा दर्ता भएका सवारी साधन तत्काल समितिको कार्यालयमा बुझाउन निर्देशन दिएको छ ।
नेपाल सरकारबाट समस्याग्रस्त घोषणा गरिएका संघ तथा संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीसम्बन्धी जिम्मेवारी रहेको समितिले समस्याग्रस्त सहकारीको नाममा दर्ता भएका तथा ती सहकारीले लगानी गरेका वा सञ्चालन गरेका संस्थाहरूको नाममा दर्ता भएका सवारी साधन तत्काल बुझाउन भनेको हो ।

समितिले सहकारी ऐन, २०७४ को दफा १०६ अनुसार गठित समितिको अधिकार प्रयोग गर्दै यस्तो सूचना जारी गरेको हो । समितिले ढुवानी प्रयोजनमा रहेका सवारी साधनसमेत जहाँ जुन अवस्थामा छन्, सोही अवस्थामा नै जो जसको प्रयोगमा रहेको भए पनि तत्काल समितिको कार्यालयमा ल्याई बुझाउन सम्बन्धित सबैलाई आग्रह गरेको छ ।
सूचनामा तोकिएको समयमा सवारीसाधन नबुझाए सहकारी ऐन, २०७४ को दफा १०६ बमोजिम अधिकार प्रयोग गरी सवारीसाधन प्रयोगकर्ता वा सम्बन्धित व्यक्ति तथा संस्थाको नाममा रहेको घरजग्गा, बैंक खाता तथा लकर, राहदानीलगायतका सम्पत्ति रोक्का राखी प्रचलित कानुनबमोजिम आवश्यक कारबाही गरिने चेतावनी दिइएको छ ।

प्रकाशित मिति : October 1, 2026 at 9:34 am




