१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

मानुषी लघुवित्त र श्रृजनशील लघुवित्तबीच मर्जर सम्बन्धी सम्झौता

३ चैत, काठमाडाैं । मानुषी लघुवित्त र श्रृजनशील लघुवित्तबीच आपसमा मर्जर जाने प्रारम्भिक सम्झौता भएको छ। बिहीबार एक कार्यक्रमबीच यी दुवै लघुवित्त आपसमा मर्जरमा जानेसम्बन्धी प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर भएको हो। समझदारीपत्रमा मानुषी लघुवित्तका तर्फबाट सञ्चालक समिति अध्यक्ष पद्माशना शाक्य तथा श्रृजनशील लघुवित्तका तर्फबाट सञ्चालक समिति अध्यक्ष राजकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन्।

काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको मानुषी लघुवित्त र सिरहाको गोलबजारमा केन्द्रीय कार्यालय रहेको श्रृजनशील लघुवित्त दुवै संस्था नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरका संस्था हुन्।

समान चुक्तापुँजी रहेका दुवै संस्थाले सर्वसाधारणमा सेयर जारी गरिसकेका छन् भने नेपाल स्टक एक्सचेन्जमा कारोबारसमेत भइसकेको छ। मर्जरपछि संस्थाको नाम मानुषी श्रृजनशील लघुवित्त वित्तीय संस्था रहने गरी प्रस्ताव गरिएको छ।

कार्यक्रममा मर्जर प्रक्रियाका लागि दुवै संस्थाबाट ३–३ जना प्रतिनिधि रहने गरी संयुक्त मर्जर समिति गठन गरिने जानकारी दिइउको थियो। साथै मर्जर प्रक्रिया यसै आर्थिक वर्षभित्र सक्ने लक्ष्य रहेको बताइएको छ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा श्रृजनशील लघुवित्तले देशभर ३३ वटा शाखामार्फत ४१ हजार ९४८ परिवारमा सेवा प्रदान गर्दै आएको छ भने मानुषी लघुवित्तले १४ जिल्लामा ३६ वटा शाखामार्फत ३४ हजार ३८७ सदस्यहरुलाई सेवा प्रदान गर्दै आएको छ।

प्रकाशित मिति : March 17, 2023 at 10:35 am