२४ जेष्ठ २०८३, आइतबार | Sun Jun 7 2026

यसरी मनाइँदैछ ‘ग्लोबल मनी विक’

३० फागुन, काठमाडौं । सन् २०२३ को ग्लोबल मनी विक चैत ६ गतेदेखि चैत १२ गतेसम्म नेपाल राष्ट्र बैंकको संयोजनमा देशभर मनाउने कार्यक्रम रहेको छ। अर्गनाइजेसन अफ इकोनोमी कोअपरेसन एन्ड डेभलपमेन्ट (ओईसीडी)को अनुरोधबमोजिम यो वर्षको ग्लोबल मनी विक मनाउन गइरहेको राष्ट्र बैंकले जनाएको छ।

यस साप्ताहिक कार्यक्रममार्फत युवाहरुमा वित्तीय शिक्षाको प्रवर्द्धन गर्दै वित्तीय साक्षरता अभिवृद्धि गरी वित्तीय समावेशिता प्रवर्द्धनका माध्यमले स्वरोजगार सिर्जना, उत्पादन तथा आय वृद्धि र आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न सहयोग पुग्ने केन्द्रीय बैंकको अपेक्षा रहेको छ।

सप्ताहको पहिलो दिन चैत ६ गते राष्ट्र बैंकको आयोजनामा नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, सहकारी विभाग र नेसनल बैंकिङ इन्स्टिच्युट लिमिटेडको संयुक्त सहभागितामा विभिन्न विषयका वित्तीय चेतनामूलक प्रस्तुतिहरु समावेश गरी कलेजस्तरका विद्यार्थीलाई समेटेर काठमाण्डौमा संयुक्त वित्तीय चेतनामूलक कार्यक्रम आयोजना गरिनेछ।

सप्ताहभर नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, सहकारी विभाग, नेसनल बैंकिङ इन्स्टिच्युट लिमिटेड, कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट अलगअलग रुपमा देशका विभिन्न स्थानका युवालक्षित वित्तीय चेतनामुलक कार्यक्रम आयोजना गरिने राष्ट्र बैंकले जनाएको छ।

त्यस्तै सप्ताहभर नेपाल राष्ट्र बैंकका प्रदेशस्थित कार्यालयलाई स्थानीय युवालक्षित वित्तीय चेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्ने, वित्तीय चेतनामूलक र्याली आयोजना गर्ने, कार्यालय प्रमुखले स्थानीय सञ्चार माध्यममार्फत वित्तीय चेतनामूलक अन्तर्वार्ता प्रसारण गराउने, स्थानीय सञ्चार माध्यमहरुलाई ग्लोबल मनी विकसम्बन्धी सामग्री प्रचार–प्रसार गर्न अभिप्रेरित गर्ने, बैंक तथा वित्तीय संस्थाका स्थानीय शाखाहरुबाट वित्तीय चेतनामूलक कार्यक्रम गर्न अभिप्रेरित गरिनेछ।

त्यसैगरी राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त बैंक, वित्तीय तथा गैर बैंक वित्तीय संस्थाबाट युवालक्षित वित्तीय चेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिनेछ भने विभिन्न सञ्चार माध्यमबाट आफ्ना नियमित प्रसारणमा ग्लोबल मनी विकसम्बन्धी विषयवस्तुलाई यथासम्भव समेट्न अनुरोध गरिनेछ।

प्रकाशित मिति : March 14, 2023 at 2:15 pm