फिल्मको प्रचारसँग किन जोडियो करदाता प्रोत्साहन उपहार कार्यक्रम ?
१ कात्तिक, काठमाडौँ । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमका विजेता घोषणा गर्न लोकप्रिय कलाकारद्वय दीपकराज गिरी र दीपाश्री निरौलालाई अघि सारेको छ। उनीहरूको नयाँ चलचित्र ‘छ माया छपक्कै २’ प्रदर्शनमा आएकै बेला उपहार कार्यक्रमको विजेता घोषणा गर्न कलाकारद्वयलाई निम्त्याइएपछि सरकारी कार्यक्रम चलचित्र प्रवर्द्धनसँग जोडिएको देखिएको छ।
विभागले असोज १६ गतेदेखि मसान्तसम्मको दोस्रो पाक्षिक उपहार कार्यक्रमअन्तर्गत शनिबार कात्तिक १ गते बिहान १० बजे काठमाडौंको न्युरोडस्थित विशाल बजार परिसरबाट विजेता घोषणा गर्ने कार्यक्रम राखेको छ। कार्यक्रममा गिरी र निरौलाले विजेता घोषणा गर्ने विभागले जनाएको छ।

संयोग के छ भने कलाकारद्वयको चलचित्र ‘छ माया छपक्कै २’ शुक्रबारदेखि मात्रै हलमा प्रदर्शन सुरु भएको छ। सामाजिक तथा राजनीतिक विषयवस्तुलाई रोमान्टिक-कमेडी ड्रामाको शैलीमा प्रस्तुत गरिएको भनिएको चलचित्र प्रदर्शनमा आएकै भोलिपल्ट उनीहरूलाई सरकारी उपहार कार्यक्रमको विजेता घोषणा गर्न निम्त्याइएको हो।
यसले करदाता प्रोत्साहन कार्यक्रमको उद्देश्य र त्यसमा कलाकार छनोटको आधारबारे प्रश्न उठाउने ठाउँ दिएको छ। यद्यपि, चलचित्रको प्रचार गर्ने उद्देश्यले नै कलाकारद्वयलाई कार्यक्रममा बोलाइएको हो वा अन्य आधारमा छनोट गरिएको हो भन्नेबारे विभागको निमन्त्रणामा स्पष्ट खुलाइएको छैन।
विभागका अनुसार यसपटकको कार्यक्रममा १६ जनाले जनही एक लाख ३४ हजार ३३४ रुपैयाँ करकट्टीअघि र करकट्टीपछि एक लाख रुपैयाँ नगद प्राप्त गर्नेछन्। त्यस्तै, बम्पर पुरस्कारतर्फ एक जनाले करकट्टीअघि १० लाख रुपैयाँ र करकट्टीपछि सात लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। यसरी दोस्रो पाक्षिकमा कुल १७ जना विजेता छनोट गरिने विभागले जनाएको छ।

कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय र आन्तरिक राजस्व विभागका उच्च पदस्थ अधिकारीहरूको सहभागिता रहने निमन्त्रणामा उल्लेख छ।
करदाता प्रोत्साहन कार्यक्रमको घोषित उद्देश्य करदातालाई प्रोत्साहित गर्नु हो। तर, सरकारी कार्यक्रमको मञ्चमा चलचित्र प्रदर्शनको समयसँगै कलाकारको उपस्थितिले कार्यक्रमको मूल उद्देश्यभन्दा मनोरञ्जन सामग्रीको प्रचारले बढी प्राथमिकता पाएको हो कि भन्ने बहससमेत सिर्जना गर्न सक्छ।
सरकारी निकायले सार्वजनिक कार्यक्रमका लागि कलाकार छनोट गर्दा त्यसको उद्देश्य, औचित्य र सार्वजनिक खर्चको पारदर्शिताबारे स्पष्ट पार्नु उपयुक्त हुन्छ।
फिल्ममा आईएमईको लगानी
इन्टरनेशल मनी एक्सप्रेस (आईएमई)ले समेत लगानी गरेको छ । आईएमई व्यवसायी चन्द्र ढकालको परिवारले नेतृत्व गरिरहेको संस्था हो । आईएमई नेपालकै पहिलो पब्लिक रेमिट्यान्स कम्पनी समेत हो । ढकाल वर्तमान सरकारको छायाँ आर्थिक सल्लाहकार रहेको चर्चा निजी क्षेत्रमा हुने गरेको छ । ढकालका छोरा सचिन त रास्वपाबाट झण्डै समानुतिक सांसद नै बनेका थिए ।
पछिल्लो समय व्यवसायीहरू माथिको चयनमुखी अनुसन्धान धरपकडमा समेत ढकाल समूहको विवादित भूमिकाको बारेमा चर्चा हुने गरेको छ । ढकालले ज्वाइँ मनोज पौडेललाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत बनाउन गरेको प्रयास बाहेक सबै सफल भएको चर्चा व्यापारिक क्षेत्रमा हुने गरेको छ ।
प्रकाशित मिति : October 18, 2026 at 8:18 am










