नुवाकोटका सुवास तामाङको हत्यामा संलग्न अर्जुन ताम्राकार पक्राउ
१ कात्तिक, काठमाडौं । काठमाडौंको माछापोखरी चोकमा भएको झगडामा नुवाकोटका २० वर्षीय सुवास तामाङको मृत्यु भएको छ। आपसी विवादका क्रममा झगडा हुँदा घाइते भएका तामाङको उपचारका क्रममा शनिबार मृत्यु भएको हो।
नुवाकोटको पञ्चकन्या गाउँपालिका–४ घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका–९, मनमैजुमा बस्दै आएका तामाङ शुक्रबार राति माछापोखरी चोकमा भएको विवादमा परेका थिए।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–१६ स्थित माछापोखरी चोकको सडकखण्डमा शुक्रबार राति करिब १२ः१२ बजे तामाङ र कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ घर भई हाल काठमाडौंको बल्खुमा बस्दै आएका २० वर्षीय अर्जुन ताम्राकारबीच विवाद भएको थियो।

विवादले झगडाको रूप लिएपछि तामाङ लडेर अचेत अवस्थामा फेला परेका थिए। उनलाई तत्काल बालाजुस्थित सिल्भरलाइन अस्पताल पुर्याइएको थियो। उपचारकै क्रममा शनिबार दिउँसो १ः३० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ताम्राकारलाई नियन्त्रणमा लिएको छ। प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले उनलाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।
घटनाको कारण र झगडाको विस्तृत विवरणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।
प्रकाशित मिति : October 18, 2026 at 7:08 am










