२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

माओवादी घटकको बैठक प्रधानमन्त्रीको सरकारी निवासमा राखेको भन्दै सूर्य थापाको आपत्ति

२३ फागुन, काठमाडाैं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा माओवादी घटकको बैठक राखेकोमा नेकपा एमालेका नेता सूर्य थापाले आपत्ति जनाएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत थापाले प्रधानमन्त्री निवासको दुरुपयोग नगर्न आग्रह गरेका हुन् । थापाले लेखेका छन्, ‘माओवादी नौटंकीः पीडितहरू बोल्न थालेपछि थाहा होला असली हैसियत । यसरी प्रधानमन्त्री निवासको दुरुपयोग नगर ।’

प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’काे अगुवाइमा मंगलबार बालुवाटारमा माओवादी घटकको बैठक बैठक बसेको थियाे । सशस्त्र द्वन्द्वकालका मुद्दा ब्युतिन थालेपछि माओवादी घटकहरू छलफलमा जुटेका हुन् ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य सी.पी. गजुरेल, नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्मा ’प्रकाण्ड’, नेकपा (बहुमत)का संयोजक धमेन्द्र बास्तोला, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव विश्वभक्त दुलाल ’आहुति’, नेकपा (माओवादी समाजवादी) का अध्यक्ष कर्णजित बुढाथोकी र माओवादी कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य नारायणप्रसाद धिमाल लगायत नेताहरू सहभागी थिए ।

प्रकाशित मिति : २३ फाल्गुन २०७९, मंगलवार १२:४२