चार विद्यार्थी संगठनद्वारा संयुक्त मोर्चा घोषणा
२१ फागुन, काठमाडाैं । आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि विभिन्न चार विद्यार्थी संगठनले संयुक्त मोर्चा घोषणा गरेका छन् ।
आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै अखिल क्रान्तिकारी, वैज्ञानिक समाजवादी विद्यार्थी संगठन, अनेरास्ववियु क्रान्तिकारी र अखिल नेपाल विद्यार्थी युनियनले संयुक्तमोर्चा बनाएर चुनाव लड्न लागेको जानकारी दिएका हुन् ।
कार्यक्रममा अखिल क्रान्तिकारीका उपाध्यक्ष नरेन्द्र विकले दिनप्रतिदिन नेपालको असफल राज्यव्यवस्था, संसदीय व्यवस्थालाई अर्थ राजनीतिक प्रणालीले हस्तक्षेप गरेको भन्दै अब संयुक्त रुपमा लड्ने निधो गरिएको तर्क गरे ।
“स्वतन्त्र युनियनको निर्वाचनलाई हामीले हाम्रो विश्वविद्यालय सुधार्ने हाम्रो राज्यको राजनीतिक व्यवस्थालाई परिर्वतन गर्ने एउटा महाअभियानको रुपमा लिएका छौ ।
विद्यार्थी आन्दोलन मा ३६ सालमा जनमत सङ्ग्रह भयो त्यो वेला पञ्चायती व्यवस्था ठिक कि बहुदलीय व्यवस्था ठिक भन्ने विषयहरूमा विद्यार्थीहरूको आन्दोलनले त्यो वेला जनमत संग्रह गर्यो त्यो बेलाको राज्यव्यवस्थाले त्यो जनमत संग्रहले पनि षड्यन्त्रपूर्ण ढङ्गले हराइयो ५४ प्रतिशत पञ्चायतको पक्षमा ४६ प्रतिशत बहुदलको पक्षमा थियो ।”
त्यस्तै अखिल क्रान्तिकारीका संयोजक कपिल सिजापतिले क्याम्पस भित्रका ठेक्कापट्टाको लागि व्यवसायको लागि मुनाफाको लागी प्रशासनसँग मिल्ने र विद्यार्थीहरूको हकहितको लागि भन्दा पनि विद्यार्थीका एजेण्डा देखाएर उनीहरूलाई आन्दोलित गर्ने गरेको जिकिर गरे ।“शक्तिको आडमा साँठगाँठ भएको हामीले अन्त्य गरेका थियौँ । स्ववियुबाट विद्यार्थीको हित चाहेका छौ ।”
वैज्ञानिक समाजवादी विद्यार्थी सङ्गठनका संयोजक करण बुढाले त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचन नगरेर लत्याउदै आइरहेको बताए ।
“अहिले चैत्र ५ गते युनियनको निर्वाचन गर्ने भनेर त्रिविले तयारी गरेको छ । यो स्ववियु निर्वाचनमा अहिले विश्वविद्यालय बेरोजगार उत्पादन गर्ने कारखानाको रुपमा स्थापित भएका छन देशका युवा जनशक्ति उद्यमी हुनु पर्नेमा खाडी मुलुकको चर्को घाममा कामगर्ने वाध्य छन् ।”
त्यस्तै अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष प्रकाश सीले नेपालको राजनीति, समाज यहाँको अर्थतन्त्र विषम परिस्थितीमा रहेको बताए ।
“अहिलेका युवामा देशप्रति वितृष्णा छ । विश्वविद्यालय पठन पाठनमा, राजनीतिक प्रणाली सवै प्रति वितृष्णा छ । निकट भविष्यमा युवाहरुको संकट हामीले देख्दैछौँ ।”उनले युवाहरुको साझाभविष्यको लागि विश्वविद्यालयक्याम्पसमा छलफल गर्ने बताए ।
प्रकाशित मिति : 16:52









