१३ जेष्ठ २०८१, आईतवार | Mon May 27 2024

भिजिट नेपाल २०२०ः कमिसनमा कुरा नमिल्दा संयोजक र सदस्य सचिवको नियुक्ति रोकियो


–दुर्गा पुडासैनी

१६ असोज, काठमाडाैँ । सरकारले नेपाल भ्रमण वर्ष २०२० (भिजिट नेपाल २०२०) को घोषणा गर्दा उत्साहित भएका पर्यटन व्यवसायी निराश बन्न पुगेका छन । मन्त्रीमा बाहल भएकै दिन संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री रविन्द्र अधिकारीले नेपाल भ्रमण वर्षको एउटा महत्वपूर्ण निर्णयमा हस्ताक्षर गरेका थिए । तर उक्त निर्णयको कार्यान्वयनका लागि जे जति प्रगित हुनुपर्ने हो त्यो हुन सकेको छैन ।

भ्रमण वर्ष सुरु हुन करिब १५ महिना मात्र बाँकी रहे पनि हालसम्म संयोजक र सदस्य सचिवकै नियुक्ति हुन सकेको छैन । मन्त्री अधिकारीले मोटो रकम कमिसन बुझाउने व्यक्ति खोज्दा संयोजक र सदस्यसिचवको नियुक्तिमा ढिलाइ भएको मन्त्रालय स्रोतले बतायो । भ्रमण वर्षकै लागि कराेडाैँ बजेट बिनियोजन भएका कारण त्यहाँ हुने गतिबिधिबाट अाफूलार्इ पनि राम्रै कमाइ हुनुपर्ने भन्दै मन्त्री अधिकारीले अाफ्नो ग्रिपमा रहने मान्छे खोजी रहेका छन ।

उनको पहिलो प्राथमिकता भनेको नेपाली कांग्रेस निकटका व्यक्तिलार्इ संयोजक बनाउने रहेको छ । जसका लागि उनले नेपाल पर्टन बोर्डकै वरिष्ठ निर्देशक अादित्य बराल रोजेका छन । तर दुर्इ तिहाइको बामपन्थी सरकार दामपन्थी बन्यो भन्दै नारा लाग्ने डरले उनी केही हच्किएका छन । यद्यपी उनले अाफ्ना सहयोगी र निकटस्थहरू मार्फत बरालबारे बजार बुझ्न लगाइरहेका छन । त्यसो त अधिकारीले होटल व्यवसायी संगिता श्रेष्ठ र श्रीजना राणा तथा पर्यटन बोर्डका पूर्व प्रमुख प्रचण्डमान श्रेष्ठबारे पनि बहस चलाएका छन । तर नियुक्त हुने व्यक्तिलार्इ स्वयंसेवी बन्नुपर्छ भन्ने जस्तो त्रास देखाएर उनी कमाउन सक्ने मान्छेको खोजीमा रहेको नेकपा निकट पर्यटन व्यवसयाीहरू बताउँछन । उनी भन्छन ‘फेक रेक्स्यु प्रकरणमा छानविन समितिको नाममा व्यवसायी तर्साउने सफल मन्त्री अधिकारी भिजिट नेपालका नाममा हुने गतिबिधिबाट राष्ट्रलार्इ भन्दा अाफूलार्इ लाभ दिलाउन लागि परेका छन ।’

नेकपा निकट अर्का व्यवसायी पनि अधिकारीले स्वतन्त्र कांग्रेससँग मिलेर काम गर्न चाहेको बताउँछन । उनी अाफ्ना निकट र पार्टी निकटकासँग काम गर्दा गोपनियता भंग हुनेडरमा छन । त्यसकारण स्वतन्त्र जस्ता देखिने कांग्रेस कार्यकर्तालार्इ प्रयोग गरेर कमाउने उनको मुख्य योजना रहेको छ उनले भने ।

सुरूमै पर्यटन विज्ञ समूहको नाममा चन्दादाताको समूह खडा गरेर अालोचनाको भारी बोक्न सुरू गरेका अधिकारीले अहिलेसम्म देखिने र महशुष हुनेगरी भाषणबाहेक केही गर्न सकेका छैनन् ।  ‘पहिला देश अनिमात्रै विदेश’  भन्ने नारा दिएर विनियोजन गरिएको ५ अर्ब २० करोड ३४ लाख रुपैयाँ बजेटले मन्त्रीलार्इ नै काम गर्न समस्या पारेको छ । नेपालमा पर्यटक अाअोस भन्दा पनि अाफ्नो कमार्इ कसरी हुन्छ भनेर सोच्दा भिजिट नेपाल २०२० को तयारी व्यापक बनाउनुपर्ने बेलामा अहिलेसम्म सचिवालयका नाममा एउटा बोर्ड झुण्ड्याउने, कागजको व्याग बनाउने र लोगो बनाउने बाहेक कुनै काम हुन सकेको छैन । सरकारले दुई वर्षभित्र २० लाख पर्यटक भित्रायउने लक्ष्य लिएको छ। तर त्यसका लागि गर्नुपर्ने महत्वपूर्ण काम हुन सकेको छैन ।

बजेटमा उल्लेख भए अनुसार साहसिक पर्यटन पूर्वाधार निर्माण, पर्यटनबाट रोजगारी र आय आर्जन जोड्ने तथा बढाउन मनोरञ्जन, प्राकृतिक, पुरातात्विक, ऐतिहासिक, धार्मिक र साहसिक पर्यटनको पूर्वाधार निर्माण, बजार प्रवद्र्धन, सेवा–सुविधाको विस्तार गर्ने र प्रदेश र स्थानीय तहसँगको साझेदारीमा आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि मुलुकभरका कम्तीमा सयवटा नयाँ पर्यटकीय गन्तव्य स्थल पहिचान गरी विकास तथा प्रवद्र्धन गर्नुपर्ने हो तर झ्याप्प पैसो बुझाउछु भन्ने मान्छे नभेटिँदा मन्त्रीज्यूलार्इ निर्णय गर्नै समस्या भो मन्त्रलयको पर्यटन हेर्ने एक सहसचिवले दैनिकीसँग भने ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष नवराज दाहाल भिजिट नेपाल २०२० घोषणामै सीमित भएको भन्दै असुष्टि जनाए । उनले जोसुकैलार्इ दिए पनि जिम्मेवारी दिएर तयारी सुरू गर्नुपर्ने बताए । दाहाल भन्छन ‘छिटोभन्दा छिटो संयोजक तोकिनु पर्यो र व्यवसायीमैत्री काम सुरू हुनुपर्यो’ उनले भ्रमण वर्षको राष्ट्रिय संयोजक नतोक्दा प्रचारप्रसारले तीव्रता पाउन नसकेको बताए । उनले भ्रमण वर्षको विषयमा हालसम्म कुनै गहन छलफल नभएको बताए । उनले भने ‘सरकारले तत्काल राष्ट्रिय संयोजक तोकेर कामको बाँडफाँट गर्नुपर्छ, र घोषणालाई घोषणामा मात्र सीमित राख्नु हुन्न । पर्यटकहरुलाई आकर्षण गर्न नेपालले कुन कुन विषयको प्रचारप्रसार गर्ने भन्ने विषय पनि टुङ्गिएको छैन । भूकम्पले क्षतिग्रस्त सम्पदाहरुको पुनर्निर्माण हुन सकेको छैन ।’

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष सीएन पाण्डे सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० लाई सफल बनाउन आफू लागिपर्ने बताउँछन । मूल आयोजक समिति गठन भइसकेको र संयोजक र सदस्यसचिव चयन हुन बाँकी रहेको बताउँदै केही समयपछि नै दुबै काम हुनेमा अाफू विश्वस्त रहेको बताउँछन । उनले यसका विषयमा निजी क्षेत्रलाई सँगै राखेर पर्यटन मन्त्रालय तथा पर्यटन बोर्डले संयुक्त छलफल गर्न आवश्यक रहेको बताए ।

लोगो, झोला र सचिवालयको बोर्ड टाँस्ने बाहेक तयारी शून्यप्रायः

अधिकारीले अहिलेसम्म भिजिट नेपाल २०२० को लोगो, झोला र सचिवालय लेखेको बोर्ड टाँस्ने बाहेक कुनै काम गरेको छैन । पदाधिकारी नियुक्तिमा ढिलार्इ हुँदा समग्र तयारी शून्य बन्न पुगेको छ । तर मन्त्री जिल्ला भ्रमण गर्दै हरेक जिल्लामा पुगेर विमानस्थल बनाउने गफ दिनमै व्यस्त रहेका छन । वाककलामा अब्बल भए पनि सुरूवाती लक्षण हेर्दा रविन्द्र अधिकारी मन्त्रीको रूपमा सफल हुनेमा शंका देखिएको छ । अझ भ्रमण वर्षका लागि गर्नुपर्ने काम नगर्दा उनी पर्यटन क्षेत्रमा समेल अलोकप्रिय हुने देखिएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०७५, मंगलवार १४:१३