११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

नुवाकोटको बेलकोटगढीमा क्रसर उद्योगको अबैध उत्खननले दुई युवाको ज्यान लियो


१२ जेठ, नुवाकोट । नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिकाको वडा नम्बर १० मा पर्ने तादी खोलामा सञ्चालित निरञ्जना रोडा ढुंगा उद्योगको अबैध उत्खननले गहिरो बनेको खोलाको खाल्डोमा परेका शनिबार दुई युवाको ज्यान गएको छ । खोलाको बीचमा एक्साभेटर हालेर गहिरो बनाएर बालुवा झिकेको घुमाउने दहमा युवाहरू डुबेको प्रत्यत्क्षदर्शीले बताएका छन ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता प्रहरी नायव उपरीक्षक तीलक भारतीले दुई युवाको ज्यान गएको पुष्टि गरे । खाल्डोमा डुबेर मृत्यु हुनेमा बेलकोटगढी नगरपालिका वडा नम्बर १३ का अन्दाजी २१ वर्षका रोजन लामा र ककनी गाउँपालिका वडा नम्बर ४ का अन्दाजी १८ वर्षका हिमाल लामा रहेका छन ।

बेलकोटगढी नगरपालिकाको वडा नम्बर १० मा रहेको तादी प्रहरी चौकीको सहयोगमा युवाहरूको उद्धार गरेर अस्पताल पुर्याए पनि उनीहरूको ज्यान जोगाउन नसकिएको ककनी ४ को नवजीवन माविका प्रधान्याध्यापक विनोद लामाले जानकारी दिए ।

प्रशासनको सेटिङमा खोलाको अबैध उत्खनन गरिरहेको उक्त उद्योगका एक सञ्चालकले केही वर्षअघि बेलकोटगढी नगरपालिकाको वडा नम्बर ११ को कार्यालयमा वडा अध्यक्ष रामहरि पाण्डेको अध्यक्षतामा भएको एक छलफलमा जिल्लाका प्रहरी र प्रशासनका मान्छे आफूहरूले पाल्नुपर्ने भएकाले तस्करीको बिल्ला नभिराउन अनुरोध गरेका थिए। शनिबार सोही उद्योगले बनाएको खोलाको खाल्डोमा परेर दुई युवाको ज्यान गएको छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०८१, शनिबार १७:०८