३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

वामदेवलाई एमालेमा फर्कन ओलीको आग्रह, ७० वर्षे प्रावधान हटाउन गौतमकाे माग

१७ फागुन, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वसहकर्मी समेत रहेका वामपन्थी नेता वामदेव गौतमलाई एमालेमा फर्कन आग्रह गरेका छन् ।

राष्ट्रपति निर्वाचनमा एमालेका तर्फबाट उम्मेदवार बन्नुभएका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई मत माग्न आज दिउँसो गौतमकै निजी निवास भैंसेपाटी परगेका अध्यक्ष ओलीले राष्ट्रपतिमा नेम्वाङलाई मत माग्नुका साथै एमालेमा फर्कन आग्रह समेत गरेका छन् ।

अध्यक्ष ओलीले भने, ‘राष्ट्रपति निर्वाचनमा तपाईले भोट त सुवास नेम्वाङलाई नै दिनुहुन्छ । यसमा अरु कुरै भएन, एमाले पार्टी पनि तपाईंकै हो, नेकपा एमाले तपाईले नै निर्माण गरेको पार्टी हो । तपाई अब पार्टीमा फर्कनुस् ।’

अध्यक्ष ओलीको जवाफमा नेता गौतमले एमालेमा राखिएको ७० वर्षे प्रावधान अवरोध रहेकाले त्यसलाई हटाउन अनुरोध गरेका थिए । उनले भने, ‘७० वर्षे उमेर हद जो राखिएको छ त्यो अवरोध नहटाई अघि बढ्न सकिँदैन । पहिला त्यो प्रावधान हटाउनुस् भनेको छु ।’

एमालेको विधानअनुसार ७० वर्ष उमेर पुगेका कुनैपनि नेतालाई कार्यकारी पदमा रहन वा पार्टीको चुनाव लड्न निषेध गरिएको छ। तत्कालीन नेकपा विभाजनपछि गौतम एकता राष्ट्रिय अभियान नामक पार्टी गठन गरेर छुट्टै गतिविधि सञ्चालन गर्दै आएका छन् ।

प्रकाशित मिति : March 1, 2023 at 4:58 pm