११ पुष २०८२, शुक्रबार | Fri Dec 26 2025

ट्रेजरी बिलको ब्याजदर एकल अंकमा झर्यो

१६ फागुन, काठमाडाैं । सरकारले आन्तरिक ऋण उठाउन प्रयोग गर्ने ट्रेजरी बिलको दर एकल अंकमा झरेको छ। नेपाल राष्ट्र बैंकले सोमबार बोलकबोल गरेको १५ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिलको ब्याजदर एकल अंकमा कायम भएको हाे ।  मंगलबार जारी हुने २८ दिने ५ अर्ब रुपैयाँ, ९१ दिने ३ अर्ब १३ करोड रुपैयाँ र ३६४ दिने ७ अर्ब रुपैयाँको ट्रेजरी बिलको बोलकबोल सोमबार गरेको थियो।

राष्ट्र बैंकले जारी गरेको २८ दिन अवधिको ट्रेजरी बिलको दर औसतमा ७.२१ प्रतिशत कायम भएको छ । बैंकहरुले २८ दिन अवधिको ट्रेजरी बिलमा न्युनतम ५.२२ प्रतिशतदेखि ७.४८ प्रतिशतसम्म बोलकबोल पेश गरेका थिए।

यस्तै ९१ दिन अवधिको ट्रेजरी बिलको दर ९.३९ प्रतिशत कायम भएको छ। भने ३६४ दिन अवधिको ट्रेजरी बिलको दर पनि ९.६६ प्रतिशत कायम भएको छ।

पछिल्लो समय अल्पकालिन ऋण उठाउन प्रयोग गरिने ट्रेजरी बिलको दर निरन्तर घट्दो क्रममा देखिएको छ। यसले सरकारलाई ब्याज भार केहि कम हुने भएको छ। सरकारले एक वर्षसम्मकाे लागि एकल अंकमा नै ऋण पाउन थालेको छ। आइतबार राष्ट्र बैंकले जारी गरेको १५ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिलमा २ अर्ब ९ करोड रुपैयाँको ट्रेजरी बिल राष्ट्र बैंक आफैले खरिद गरेको छ भने बाँकी १३ अर्ब ४ करोड रुपैयाँको ट्रेजरी बिल बैंकहरुले खरिद गरेका छन्।

प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलवार १४:०७