राष्ट्र बैंकले वैदेशिक रोजगार बचतपत्र निष्काशन गर्ने, कति पाइन्छ व्याज ?
१२ फागुन, काठमाडाैं । नेपाल राष्ट्र बैंकले बैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई लक्षित गरी बैदेशिक रोजगार बचतपत्र निष्काशन गर्ने भएको छ । राष्ट्र बैंकले फागुन १४ गते देखि ५० करोड रुपैयाँको वैदेशिक रोजगार बचतपत्र २०८४ निष्काशन गर्न लागेको हो ।
१२.५० प्रतिशत ब्याजदर पाइने उक्त बचतपत्र ५ वर्ष अवधिको रहेको छ । भने ६-६ महिनामा ब्याजदर प्राप्त हुनेछ । राष्ट्र बैंकले निष्काशन गर्न लागेको बचतपत्रमा मुलुक बाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको ६ महिना नपुगेका नेपाली तथा गैर आवासीय नेपालीहरुले आफु वा आफ्ना परिवारको सदस्य (बुवा, आमा, श्रीमान, श्रीमती, छोरा, छोरी मात्र) को नाममा खरिद गर्न सकिनेछ ।
राष्ट्र बैंकले निष्काशन गर्न लागेको बचतपत्रमा इन्छुक तथा योग्य लगानीकर्ताले न्युनतम १० हजार रुपैयाँ र बढीमा १० हजारले भाग जाने गरी ५० करोड सम्मको लागि चैत ३ गतेसम्म आवेदन दिन सकिनेछ । बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जासमेत लिन पाइन्छ । बचतपत्रको ब्याजमा भने ब्याजकर लाग्नेछ । यो बचतपत्रको साँवा फिर्ता २०८४ चैत्र १० गते हुने छ ।
प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार १३:१७












