साढे २ अर्ब रुपैयाँको नागरिक बचतपत्र बिक्री गर्दै राष्ट्र बैंक, कति पाइन्छ ब्याज ?
८ फागुन, काठमाडाैं । नेपाल राष्ट्र बैंकले सरकारको तर्फबाट २ अर्ब ५० करोड रुपैयाँ बराबरको नागरिक बचतपत्र बिक्री गर्दैछ । केन्द्रीय बैंकले फागुन १० गतेदेखि ‘नागरिक बचतपत्र २०८४ क’ नामको बचतपत्र निष्कासन गर्न लागेको हो । यो बचतपत्रको परिपक्व अवधि ५ वर्षको छ । यसमा लगानी गर्ने नेपाली नागरिकले वार्षिक ११.५० प्रतिशत ब्याज पाउने छन् ।
बचतपत्रमा फागुन १० गतेदेखि फागुन ३० गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ। जसको निष्काशन चैत ६ गते गरिने राष्ट्र बैंकले जनाएको छ। बचतपत्रको सावाँ फिर्ता २०८४ चैत ६ गते हुने छ ।
प्रत्येक छ महिनामा ब्याज दिइने उक्त बचतपत्र खरीद गर्न घटीमा १० हजार र बढीमा कुल निष्काशित रकमको सीमा नबढाई १० हजारले निःशेष भाग जाने अंक बराबरको रकमको लागि आवेदन दिन पाइनेछ। उक्त बचतपत्र नेपाली नागरिकले मात्र खरीद गर्न पाउनेछन् । सो बचतपत्र धितो राखी राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन सकिनेछ।
प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार १४:३०












