२५ बैशाख २०८१, मंगलवार | Tue May 7 2024

प्रचण्ड कमरेड, स्वार्थमा रमाउने हैन जनउत्तरदायी बनाैँ


-सरोजकुमार तामाङ

प्राप्त जनादेशलाई शिरोधार्य गर्दै अघि बढेको नेकपा एमालेको विशेष पहल र सहमतिको आधारमा निर्माण भएको नवसरकारले पूर्णता पाउन विगतको शेरबहादुर देउवा सरकार झैं महिनौ कुर्नु पर्ने संस्कारको अन्त्य आजकै दिनबाट भएको आभाष जनताले गर्नेछ । यो एक हिसाबले मुलुक र जनताप्रतिको वफादारिता देखिन्छ । कुन सत्ताधारी दललाई कुन मन्त्रालय पर्यो भनि चियोचर्चा गर्न समय खेर फ्याँल्ने भन्दानि पाएको मन्त्रालय अन्तर्गत जनमुखी कार्यहरु गर्न सक्छ कि सक्दैन भन्ने आम जनचाँसोको महत्वपूर्ण बिषय हो ।

लोकतन्त्रमा जनमतको जनादेश नै राज्यमुखी हैन, जनमुखी कार्यमा कत्तिको जनप्रतिनिधिहरु उत्तरदायी हुन्छन् भन्ने हो । तत्काल अस्थायी विकासे परियोजनाहरु बनाउने भन्दा पनि संस्थागत नीतिहरु निर्माण गर्दै दीर्घकालीन विकास र समृद्धिका खाकाहरु कोर्नु अहिलेको आवश्यकता हो । चरणवद्ध भएर अघि बढेको खण्डमा हामीले भन्ने गरेका समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न धेरै समय खर्च गर्नुपर्दैन् । तर, बीचबीचमा देखिने सुक्ष्म दलका सत्ता मोहले निर्धारित लक्ष्य हासिल गर्न केही अवरोध उत्पन्न हुनसक्छ ।

मैले पाए ठिक उसले पाए बेठिक जसरी एकपक्षीय ढँगले सत्तारुढ दलहरुभित्र पदीय भागबण्डाको घाउ कोतार्दै जाने हो भने अन्तत्वगत्वा पुग्ने कहिपनि हैन् । त्यही विगतको सत्ता लोलुप्ताको चक्करमा मुलुक र जनतालाई फसाउने र नाम मात्रको निर्वाचनलाई आफ्नो वर्गीय स्वार्थ पूर्तिको माध्यम मात्र बनाउँदै जादाँ जनतामा वितृष्णा पैदा भै पंचायती शैंलीको सामाजिक फासिवादले विस्तारै ठाउँ ओगट्दै जानेछ । लोकतन्त्रमा जनमतको विभाजन हुनु भनेकै विचार र सिद्धान्तले आफूसँग मेल नखाएपनि अरुका पनि सकारात्मक पक्षहरु समेट्दै जानु हो ।

लोकतन्त्र र बहुलवादी खुल्ला समाजको अवधारणा अंगीकार गरिसकेको अहिलेको कालखण्डमा छुट नभएको निषेधको राजनीतिक विचारलाई मलजल गर्दै अघि बढ्ने हो भने त्यसले कालान्तरमा भ्रष्ट समाज र पतित संस्कारको विकास गर्नेछ जुन प्रत्युत्पादक हुनेछ । जुन नेता बारम्बार स्वार्थीय राजनीतिक मार्गले सत्तासीन हुन पुग्छ र जनचाहाना बमोजिमको कार्य सम्पादन गर्न सक्दैन भने ती नेता र तिनले नेतृत्व गरेका दलहरु एकपछि अर्को गर्दै जनमतको नजरमा गिर्दै जाने हो । तर, सत्ता समालेसँगै जनप्रिय कामहरु गर्दै जनताको मन जित्दै जाने हो भने नेकपा एमाले झैं एकपछि अर्को गर्दै सफलताको सिँढी चढ्दै जानेछ ।

विगतको निर्वाचनबाट के कुरा प्रमाणित भएको छ भने नेकपा एमाले बाहेकका दलहरुलाई निर्वाचन जित्न अरुको साहारा चाहिएको छ । आज संसदमा उपस्थित काँग्रेस, माओवादी, जसपा लगायतका स-साना राजनीतिक दलहरु लोपोन्मुख अवस्थामा पुग्नु यिनीहरु सत्तासीन हुँदा जनपक्षीय कामहरु गर्न नसकेरै हो । बारम्बार सत्तासीन हुँदा पनि नेकपा एमालेले झन आफ्नो आकार किन फैलाउँदैछ भने उसले जनउत्तरदायी र जवाफदेहीताको लोकतान्त्रिक मूल्य र मान्यताको अवमूल्यन गरेको छैन् ।

कुनैपनि निर्वाचन जित्न नेकपा एमालेलाई जनमत बाहेक कसैको साहाराको आवश्यकता देखिँदैन् । त्यसैले यो माओवादी, काँग्रेस लगायत अन्य दलहरुले जनताको नजरमा स्थापित हुन उपलब्धिमुलक कामहरु गर्दै जानु पर्नेछ । उहि विगतमा झैं सामन्तवर्ग, दलाल नोकरशाही पुँजीपतिवर्ग र साम्राज्यवादी शक्तिहरुको पाउ मोल्ने काम मात्र गरेको खण्डमा लोकतन्त्रलाई विकसित गर्दै बहुसंख्यक श्नमजीवीवर्गको अधीनमा राज्य व्यवस्थालाई नियन्त्रणमा राख्दै जनवादी राज्यसत्ताको घोषणा गर्न ढिलो हुनेछ । यो ढिलो हुनु भनेकै श्नमजीवीवर्गलाई राजनीतिक, आर्थिक, सामाजिक र साँस्कृतिक पक्षहरुबाट सर्वशक्तिमान बनाउन नसक्नु हो ।

यसको मतलब शोषणको रुप मात्र फेरिएको हो भने शोषणप्रथाको अन्त्य नहुनु हो । विद्यामान जन-समस्याहरुको हल खोज्नुको साट्टो वैदेशिक एकाधिकार पुँजीवाद र साम्राज्यवादका हली बन्न तम्तयार हुन्छ भने समयक्रमसँगै पतनको दिशा उन्मुख यो व्यवस्था र यो व्यवस्थाभित्र चाकडीवादको संस्कारलाई प्रसय दिने दलहरु निम्याट्यान्न हुने नै छ । नेताले स्वाधीनताको नेतृत्व गरेको सुहाउँछ नकि विदेशीको चाकडी । केही सन्देशमूलक र अर्थमूलक कार्यको थालनी गर्दै जनताको विश्वास जित्न सक्ने प्रयास जारी राखौं ।

सत्ताको दलदलबाट मुलुक र यो शासन व्यवस्थालाई परै राखौं । बहुदलीय प्रतिस्पर्धाको राजनीतिमा कुर्सीको प्रतिस्पर्धा हैन, जनहितको प्रतिस्पर्धामा आफना विचार र सिद्धान्तहरुलाई समर्पित गरौं । संविधानको सर्वोच्चता आफू अनुकूल राज्यसत्ता हत्याउन हैन, नेपाली जनतालाई सार्वभौमसत्ता र राजकीयसत्ता सम्पन्न गर्न दृढ संकल्प गरौं । श्नमजीवी जनताको रगत र पसिनाले ल्याइएको यो व्यवस्था पराधीन बन्न हैन, मुलुकभित्रको स्रोत र साधनलाई राष्ट्रहितको निमित्त उच्चतम प्रयोग गर्दै नेपालीपनको मौलिक स्वाधीन बन्न हो । कुनैपनि वैदेशिक विचार र सिद्धान्तको कार्बनकपी बन्न तम्तयार हुनु भन्दा पनि आफ्नै मौलिकताको पहिचानलाई थप विकास गर्न प्रयोग गरौं ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलवार ०९:५२