१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

महेश बस्नेतविरुद्धको मुद्दा लिएर अदालत पुगिन शोभा, सरकारी वकिलको कार्यालयसँग प्रमाण मागियो


२४ वैशाख, काठमाडाैँ । नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतको विरूद्धमा भ्रुण हत्या, जबरजस्ती करणी र डाँका चोरी मुद्दा लिएर प्रहरीकोमा पुगेकी शोभा पाठक प्रहरीले मुद्दा नचलाउने निर्णय गरेसँगै सिधै अदालतमा पुगेकी छिन । उनले उच्च अदातल पाटनमा उत्प्रेषणको मुद्दा दर्ता गरेकी हुन । शोभाको मुद्दामा सुनुवाइ गर्दै न्यायाधीश हेमन्त रावलको एकल इजलाशले जिल्ला सरकारी वकील कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंलाई कारणसहित प्रमाण दिन आदेश दिएको छ । अदालतले १५ दिनभित्र लिखित जवाफ पेश गर्न भनेको छ ।

जिल्ला सरकारी वकील कार्यालय, काठमाडौं र जिल्ला प्रहरी परिसर काठमाडाैँले पूर्वमन्त्री समेत रहेका बस्नेतविरुद्धको मुद्दा तामेलीमा राख्ने निर्णय गरेका थिए । अादेशमा प्रमाणसहित उच्च सरकारी वकील कार्यालय, पाटनमार्फत् लिखित जवाफ पेश गर्न भनिएको छ ।

आदेशमा भनिएको छ, ‘यसमा के कसो भएको हो ? निवेदकको मागबमोजिम आदेश किन जारी हुनु नपर्ने हो ? मागबमोजिमको आदेश जारी हुनु नपर्ने कुनै आधार, कारण भए सबुद प्रमाणसहित प्रस्तुत आदेशसहितको म्याद सूचना पाएको मितिले बाटाको म्यादबाहेक १५ दिनभित्र उच्च सरकारी वकिल कार्यालय, पाटनमार्फत लिखित जवाफ पेश गर्नु भनि उच्च अदालत नियमावली, २०७३ को नियम ४१ (२) बमोजिम प्रत्यर्थीहरुका नाममा यो आदेश जारी गरिदिएको छ । प्रत्यर्थीहरुबाट लिखित जवाफ परे वा पर्ने अवधि व्यतित भएपछि नियमानुसार गरी पेश गर्नु ।’

शोभाले जिल्ला प्रहरी परिसर, काठमाडौंमा ‘भ्रुण हत्या, जबरजस्ती करणी र डाँका चोरी’ प्रकरणमा जाहेरी दिएकी थिइन् । प्रहरीले प्रमाण अपुग भएको जनाउँदै मुद्दा तामेलीमा राख्न जिल्ला सरकारी वकील कार्यालय, काठमाडौंलाई सिफारिस गरेको थियो र कार्यालयले सोही अनुसार निर्णय गरेको थियो । उक्त निर्णय बोकेर शोभा उच्च अदालत पुगेकी थिइन ।

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार १०:३९