३१ बैशाख २०८१, सोमबार | Mon May 13 2024

अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि सरकार र निजी क्षेत्र एकसाथ अघि बढ्नुपर्छः अर्थमन्त्री शर्मा


२८ मंसिर, काठमाडाैं । अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि सरकार प्रतिवद्ध रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) को १३औँ वार्षिक साधारणसभालाई आज सम्बोधन गर्दै उनले निजी क्षेत्रप्रति सरकारले फरक दृष्ट्रिकोण राखेको छैन, अर्थतन्त्रको महत्वपूर्ण हिस्सा मानेको छ भनेका छन् ।

“सरकारले निजी क्षेत्रलाई अर्कै नजरले हेर्छ भन्ने बुझाइ छ, तर सरकारले आफ्नै अभिन्न अङ्गका रुपमा लिएको छ, निजी क्षेत्रले दिएका सुझाव नै सरकारको नीतिमा पर्ने गरेका छन्”, अर्थमन्त्री शर्माले भने । अहिले अर्थतन्त्रमा देखिएका समस्या आन्तरिक कारणले मात्र नभइ विश्वव्यापी रुपमा सिर्जित बाह्य परिदृश्यका कारणसमेत रहेको जनाउँदै उनले समस्या समाधानका लागि सरकार र निजी क्षेत्र एकसाथ अघि बढ्नुपर्ने बताए ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन भर्खरै मात्र सम्पन्न भएको र निर्वाचित प्रतिनिधिले अब विकासको आवश्यकतालाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्ने पनि अर्थमन्त्री शर्माको भनाइ छ । “नागरिकमा विकासको चाहना छ र यो संवैधानिक आवश्यकता पनि हो । अहिलेको अवस्थामा उत्पादन वृद्धि र आयात प्रतिस्थापन गर्ने कुराको महत्व छ । यसका लागि राज्यका सबै निकाय त्यसलाई कटिबद्ध भएर लाग्न म आग्रह गर्दछु” उनले भने ।

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार १३:१६

https://srdb.com.np/