२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

समानुपातिक सांसदको नामावली सच्याउन सोमबारसम्मको समय

२५ मंसिर, काठमाडाैं । निर्वाचन आयोगले समानुपातिकतर्फ स्थान प्राप्त गर्ने राजनीतिक दलहरूबाट बन्दसूचीमा रहेका उम्मेदवारबाट सिफारिस भएका सांसदहरूको नामावलीलाई समावेशी समूहबमोजिम सच्याएर पठाउन दुई दिनको समयसहित आज पत्राचार गरेको छ । ती दलहरूले यही मंसिर २६ गते सोमबार साँझ ४ बजेसम्म सच्याइएको सूची बुझाउनुपर्नेछ ।

प्रतिनिधिसभातर्फको नाम सिफारिस गर्न यही मंसिर २४ गते ४ बजेसम्म समय दिइएकामा दलहरूले नमावली सिफारिस गरेका थिए । पेस भएकामध्ये कतिपय दलले समावेशी समूहबाट उपयुक्त प्रतिनिधित्व नगराएको, कतिपय दलले प्राप्त स्थानभन्दा बढी स्थानमा सिफारिस गरेको पाइएको छ ।

नामावली सच्चिएर प्रतिनिधित्व भई आएपछि आयोगले निर्वाचित भएको घोषणा गर्ने उक्त प्रणालीतर्फका प्रवक्ता गुरूप्रसाद वाग्लेले जानकारी दिए ।

यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ मतगणना सकिएपछि आयोगले यही मंसिर २२ गते थ्रेसहोल्ड कटाउने दलहरूलाई बन्दसूचीमा समावेश समावेशी समूह मिलाएर नाम पठाउन पत्राचार गरेको थियो ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आईतवार १६:५९