२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

एमालेले प्रतिपक्षको भूमिका निर्वाह गर्छः उपाध्यक्ष पौडेल

२३ मंसिर, रुपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन् ।

आज बुटवलमा पत्रकारसँग कुरा गर्दै उनले सो धारणा व्यक्त गरेका हुन् । “जनमतका हिसाबले एमाले ठूलो पार्टी हो तर श्रेष्ठताका हिसाबले दोस्रो भएका छौँ त्यसैले हामी सरकारमा जाँदैनौँ”, उनले भने ।

सरकारबारेको प्रश्नमा पार्टीले कुनै पनि दलसँग छलफल नगरेको स्पष्ट पार्दै नेता पौडेलले बहुमत नपुगेपछि त्यसका लागि कुनै पहलकदमी नलिएको बताए ।

सरकार दल विशेषको नहुने जनाउँदै रुपन्देही क्षेत्र नं २ का प्रतिनिधसभा सदस्यसमेत रहेका पौडेलले एमालेको नेतृत्वमा सरकार बन्नु र नबन्नुले रुपन्देहीको विकासलाई असर नगर्ने उल्लेख गरे। “जसको नेतृत्वमा सरकार बने पनि हामी रुपन्देहीको विकासलाइ रोकिन दिँदैनौँ, सुरु भएका योजना पूरा गरेर छोड्छौँ”, उनले भने ।

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार १२:४२