३० कार्तिक २०८१, शुक्रबार | Fri Nov 15 2024

पश्चिम सेतीको लगानीको ढाँचा तयार गर्न कार्यदल

३ असोज, काठमाडाैँ । सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पश्चिम सेती जलविद्युत् आयोजनाको प्रवद्र्धक चिनियाँ कम्पनी थ्री गर्जेज इन्टरनेशनले अनिच्छा व्यक्त गरेकाले लगानीको नयाँ ढाँचा तय गर्नका लागि एक उच्चस्तरीय कार्यदल गठन गरेको छ ।

सो कार्यदलमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, अर्थमन्त्री डा युवराज खतिवडा, बोर्डका प्रमुख कार्यकारी अधिकृत अधिकारीलगायत सदस्य हुनुहुन्छ । पछिल्लो पटक चिनियाँ कम्पनीसँग भएको वार्ता असफल भएपछि बोर्ड बैठकले लगानीको ढाँचालगायतका विषयमा निष्कर्ष निकाल्नेछ ।

सरकारले चिनियाँ कम्पनीले प्रस्ताव गरेको सबै शर्त पूरा गर्ने प्रतिबद्धता जनाए पनि ७५० मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत् आयोजना निर्माणमा अनिच्छा व्यक्त गरेकाले नयाँ प्रक्रिया शुरु गर्न कार्यदल गठन गरिएको र उक्त कार्यदलले दिने प्रतिवेदनमा आधारमा आवश्यक निर्णय गरिने बोर्डका प्रमुख कार्यकारी अधिकृत अधिकारीको भनाइ छ ।

यस्तै बैठकले म्याग्नेटिक इनर्जी, रिभरपोर्ट, सोलार ऊर्जालगायतका विषयमा परेको प्रस्तावमाथि छलफल गरी आवश्यक निर्णयका लागि सरकारका सम्बन्धित निकायमा नै पठाउने निर्णय गरेको छ । बोर्डको अधिकार क्षेत्र नभएकाले सरकारका सम्बन्धित निकायलाई नै प्रक्रिया अगाडि बढाउन दिइने छ ।

प्रकाशित मिति : ३ आश्विन २०७५, बुधबार ०६:४०