२३ जेष्ठ २०८३, शनिबार | Sat Jun 6 2026

कुमारी र एनसीसी बैंकबीच मर्जरलाई अन्तिम रुप दिन बोलाइयो विशेष साधारणसभा

१३ मंसिर, काठमाडौं । कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले एकआपसमा गाभिनका लागि विशेष साधारणसभा बोलाएका छन्। दुवै बैंकले मंसिर २५ गते साधारणसभामा सेयर आदानप्रदान अनुपात (सेयर स्वाप रेसियो) देखि मर्जर स्वीकृतको एजेन्डामाथि छलफल गर्न लागेका हुन् ।

दुवै बैंक बराबर हैसियतमा गाभिने छन्। दुई बैंक गाभिएपछि चुक्ता पुँजी २५ अर्ब ८५ करोड हुनेछ। बैंकको निक्षेप ३ खर्ब ११ अर्ब ३४ करोड निक्षेप हुनेछ भने कर्जा २ खर्ब ७४ अर्ब ५५ करोड हुनेछ। जगेडा कोषहरूमा भएको रकम लगायतका आधारमा बैंकको कुल पुँजी ३७ अर्ब ६५ करोड हुनेछ।

विशेष साधारणसभाले मर्जर स्वीकृति दिएपछि अन्तिम स्वीकृतिका लागि दुवै बैंक राष्ट्र बैंकसँग स्वीकृति लिन जाने छन्। राष्ट्र बैंकले स्वीकृति दिएपछि दुवै संस्था पुसअघि नै मर्जर गर्ने तयारीमा छन्।

मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृतमा रमेशराज अर्याल हुने छन् भने कुमारीका रामचन्द्र खनाल वरिष्ठ डेपुटी प्रमुख कार्यकारी अधिकृत हुने छन्। मर्जरपछि बैंकको नाम कुमारी बैंक हुने छ।

एनसीसी बैंकका कर्मचारीका लागि स्वैच्छिक अवकाश योजना ल्याइएको छ। कुमारीले भने यो योजना ल्याउने छैन। अहिले एनसीसीमा १६०० कर्मचारी छन् भने कुमारीमा १९०० कर्मचारी छन्। एक्सटेन्सन काउन्टरबाहेक शाखा संख्या ३५५ पुग्ने छ।

प्रकाशित मिति : November 29, 2022 at 9:46 am